पेट्रोल–डिजेल सस्तो, ग्यास महँगियो: नेपाल आयल निगमको नयाँ मूल्य लागू

38 Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ भने खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको जनाएको छ।

निगमले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार नयाँ मूल्यसूची राति १२ बजेदेखि लागू भएको हो। नयाँ समायोजन अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा १२ रुपैयाँले मूल्य घटाइएको छ।

यससँगै काठमाडौं उपत्यका, दिपायल र पोखरामा पेट्रोलको मूल्य प्रतिलिटर २ सय १७ रुपैयाँ कायम भएको छ, जुन यसअघि २ सय १९ रुपैयाँ थियो। त्यस्तै, सुर्खेत र दाङमा पेट्रोलको मूल्य २ सय १६ रुपैयाँ निर्धारण गरिएको छ भने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा प्रतिलिटर २ सय १४ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ।

यता, खाना पकाउने एलपी ग्यासको मूल्य भने १ सय ५० रुपैयाँले बढेको छ। अब ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार १ सय ६० रुपैयाँ पुगेको छ भने आधा सिलिण्डरको मूल्य १ हजार ८० रुपैयाँ तोकिएको छ। यसअघि पूर्ण सिलिण्डर २ हजार १० र आधा सिलिण्डर १ हजार ५ रुपैयाँ रहेको थियो।

त्यस्तै, हवाई इन्धनमा पनि मूल्य वृद्धि गरिएको छ। आन्तरिक उडानतर्फ प्रतिलिटर ७ रुपैयाँले र अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर ४६ अमेरिकी डलरले वृद्धि भएको निगमले जनाएको छ।

image.png