जिब्रो छेड्ने जात्रा बोडेमा सम्पन्न, सुजन बाग श्रेष्ठले चौथो पटक जिब्रो छेडे

61 Shares

काठमाडौं । भक्तपुरको मध्यपुर थिमी–स्थित बोडेमा परम्परागत जिब्रो छेड्ने जात्रा बुधबार श्रद्धा र उत्साहका साथ मनाइएको छ।

जात्रामा स्थानीय सुजन बाग श्रेष्ठ ले चौथो पटक जिब्रो छेडेर परम्परालाई निरन्तरता दिएका छन्।

नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइएको करिब १० इन्च लामो सुइरोले पाँचो गणेशको प्राङ्गणमा रहेको पाटीको मञ्चमा उनको जिब्रो छेडिएको थियो। चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर परिसरमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बस्ने परम्परा छ।

जिब्रो छेडिसकेपछि सहभागीले चन्द्राकारको ‘भ्वाय्’ (महाद्वीप) बोकेर टोल–टोल परिक्रमा गर्ने र भाँगु टोल पुगेर पाँचो गणेश मन्दिरमा सुइरो निकाल्ने तथा महालक्ष्मी मन्दिरमा ठोक्ने चलन रहेको छ। यसरी जात्रा सम्पन्न गरिन्छ।

यो जात्रा प्राचीनकालदेखि दैवी शक्तिमा आधारित धार्मिक विश्वाससँग जोडिएको छ र नीलबाराही देवगणसँग सम्बन्धित मानिन्छ। किंवदन्तीअनुसार बोडे क्षेत्रमा दुःख दिने भूत–प्रेत र पिशाचलाई नियन्त्रण गर्न तान्त्रिक भीमदत्तले जिब्रो छेड्ने विधि अपनाएपछि यो परम्परा सुरु भएको विश्वास गरिन्छ।

ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको यो जात्राले नेवार समुदायको मौलिक परम्परा र आस्थालाई जीवन्त रूपमा झल्काउने गर्दछ।