भारतीय संगीतकी दिग्गज गायिका आशा भोसलेलाई शनिबार मुम्बईस्थित ब्रीच क्यान्डी अस्पताल मा भर्ना गरिएको छ । हाल उनको आपत्कालीन कक्षमा उपचार भइरहेको बताइएको छ ।
अहिलेसम्म उनको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी सार्वजनिक गरिएको छैन । अस्पताल वा परिवारका तर्फबाट आधिकारिक बयान नआए पनि उनकी नातिनी जनाई भोसले ले सामाजिक सञ्जालमार्फत अपडेट दिएकी छन् ।
दादासाहेब फाल्के पुरस्कार र पद्म विभूषणबाट सम्मानित ९२ वर्षीया भोसलेलाई अत्यधिक थकानका कारण छातीमा संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको जनाइएको छ ।
जनाईले सामाजिक सञ्जालमा लेखेकी छन् कि उनकी हजुरआमा कमजोरी र छातीको संक्रमणका कारण अस्पतालमा उपचाररत छन् र परिवारले गोपनीयताको सम्मान गर्न अनुरोध गरेको छ । साथै उनले नियमित रूपमा सकारात्मक अपडेट दिने पनि बताएकी छन् ।
यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ले पनि सामाजिक सञ्जालमार्फत आशा भोसलेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
भारतीय संगीत इतिहासमा आशा भोसलेलाई सबैभन्दा बहुमुखी गायिकामध्ये एक मानिन्छ । ७ दशकभन्दा बढी लामो करिअरमा उनले हजारौं गीत गाएकी छन् । उनले आर.डी. बर्मन लगायतका दिग्गज संगीतकारसँग सहकार्य गर्दै थुप्रै सदाबहार गीत दिएकी छन् ।
उनको गायन यात्रा सन् १९४३ मा मराठी फिल्म ‘माझा बल’बाट सुरु भएको थियो भने सन् १९४८ मा ‘चुनरिया’ फिल्मको ‘सावन आया’ गीतमार्फत बलिउडमा प्रवेश गरेकी थिइन् ।
संगीतसँगै उनले अभिनयमा पनि हात हाल्दै सन् २०१३ मा मराठी फिल्म ‘माई’मा अभिनय गरेकी थिइन् । हिन्दीबाहेक उनले करिब २० वटा भाषा र शैलीमा गीत गाएकी छन् र सन् २००६ मा आफूले करिब १२ हजार गीत गाएको बताएकी थिइन् ।
योगदानका लागि उनले दादासाहेब फाल्के पुरस्कार र पद्म विभूषण सहित थुप्रै सम्मान प्राप्त गरेकी छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया