टोखामा चार दिन बिस्का नखः: रथजात्रा, सिन्दूरजात्रा र सांस्कृतिक रौनकले नगर उत्साहित

185 Shares

काठमाडौं ।
ऐतिहासिक, धार्मिक र पुरातात्त्विक महत्त्व बोकेको टोखामा बिस्का नखः (जात्रा) चार दिन मनाइने भएको छ।

टोखा विस्केट जात्रा मूल व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरी नेवार समुदायको बाहुल्य रहेको टोखामा आगामी वैशाख १ गतेदेखि ४ गतेसम्म जात्रा मनाइने जानकारी दिएको हो।

समितिका सहसंयोजक गणेशमान श्रेष्ठले जात्रालाई व्यवस्थित र मर्यादित बनाउन शान्ति सुरक्षा, स्वयंसेवक, पार्किङ, यातायात, बाजागाजा तथा रथजात्रा व्यवस्थापनका लागि विभिन्न उपसमिति गठन गरिएको बताए।

चैत मसान्तबाट सुरु हुने जात्राअन्तर्गत भक्तजन बिहान शिवपुरीस्थित बागद्वार स्नान गर्न जाने र राति चण्डेश्वरी हुँदै सपनतीर्थ मन्दिर पुग्ने परम्परा रहेको छ। सपनतीर्थस्थित सिद्धपोखरीमा नयाँ वर्षको बिहान स्नान गर्ने विशेष चलन छ।

मसान्तको साँझ सपनविनायक, चण्डेश्वरी र मसानकालीका रथ बाजागाजासहित निकालिन्छ। नयाँ वर्षको दिन साँझ गाउँ परिक्रमा गरी विभिन्न टोलमा रथ बिसाउने गरिन्छ।

वैशाख २ र ३ गते सिन्दूरजात्रा, जीवित गणेश कुमारीको आगमन, तलेजुबाट पूजा ल्याउने तथा विभिन्न स्थानमा रथ परिक्रमा गराउने कार्यक्रम रहनेछ। भक्तजनले रातभर भजनकीर्तन गर्दै जाग्राम बस्ने परम्परा पनि कायम छ।

जात्राको अन्तिम दिन वैशाख ४ गते बिहान सिन्दूरजात्रा गर्दै गाउँ परिक्रमा गराइनेछ भने अपराह्न सबै रथ आ–आफ्ना देवीघरमा भित्र्याइएपछि जात्रा समापन हुनेछ। वैशाख ५ गते बिहान लिङ्गो ढालेर जात्रा विसर्जन गरिनेछ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले ऐतिहासिक पर्व संरक्षणलाई प्राथमिकता दिँदै जात्रा व्यवस्थापनका लागि बजेट विनियोजन गरिएको बताए। जात्राका अवसरमा नगरपालिकाभर एक दिन तथा वडा नं २ र ३ मा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था गरिएको छ।