पश्चिमी प्रणालीको प्रभाव: आज देशभर वर्षा, चट्याङ र हिमपातको सम्भावना

146 Shares

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखा का अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव सक्रिय रहेको छ।

बुधबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखिएको छ। बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षा भइरहेको छ।

दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रहनेछ भने अन्य क्षेत्रमा पनि आंशिकदेखि सामान्य बदली रहनेछ। यी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। साथै, मधेश, कोशी र बागमती प्रदेशको तराई क्षेत्रमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको जनाइएको छ।

त्यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने चेतावनी दिइएको छ।

राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश र बागमती प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने तराईका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।

महाशाखाले मौसम प्रतिकूल हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।