काठमाडौं। प्रतिनिधिसभाले नयाँ सभामुख पाएकोसँगै संसद्को नियमित कामकारबाही र रोकिएका संसदीय प्रक्रियाहरू अब गति लिने भएका छन्।
संघीय संसद् सचिवालयले भोलि बिहान ११ बजे सर्वदलीय बैठक आह्वान गरेको छ। बैठकले संसद्को आगामी कार्यसूची अन्तिम रूप दिने र सदनको कामलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्नेछ।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार, भोलिको बैठकमा प्रतिनिधिसभाको पहिलो बैठकमा पेस भएका तीनवटा अध्यादेश स्वीकृत गर्ने प्रस्ताव अघि बढाउने तयारी छ। यद्यपि सर्वदलीय बैठकपछि कार्यसूचीमा परिमार्जन हुनसक्ने सम्भावना पनि छ।
भोलिको बैठकमा ‘कार्यव्यवस्था परामर्श समिति’ गठन गर्ने विषयमा पनि छलफल हुनेछ। समिति २१ सदस्यभन्दा बढी नहुने गरी बनाउने योजना भइरहेको छ। साथै, प्रतिनिधिसभा संचालन नियमावली मस्यौदा समिति गठन गर्ने निर्णय पनि बैठकमा हुने अपेक्षा गरिएको छ। नयाँ नियमावली तयार भएपछि संसद्ले अझ व्यवस्थित रूपमा काम गर्नेछ।
संसद्को शून्य समय र विशेष समयमार्फत जनताका मुद्दा उठाउन सांसदहरूलाई अब सुविधा मिल्नेछ। सचिवालयले सभामुखलाई संसद् सञ्चालनका सबै अभ्यासहरू सुरु गर्न आवश्यक गृहकार्य गरिसकेको छ।
नयाँ सभामुखको आगमनसँगै अब संसद् कानुन निर्माण, संसदीय निगरानी र जनसरोकारका विषयमा थप प्रभावकारी र परिणाममुखी काम गर्न सक्षम हुने विश्वास गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया