मन्त्री सोबिता गौतम: यसपटकको संसद पक्ष–विपक्ष सीमाभन्दा माथि उठ्नुपर्छ

115 Shares

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम ले प्रतिनिधिसभामा संसद् पक्ष र विपक्षको सीमाभन्दा माथि उठ्नुपर्नेमा जोड दिएकी छिन्।

प्रतिनिधिसभा बैठकमा सभामुख डोल प्रसाद अर्याल को समर्थनमा बोल्दै मन्त्री गौतमले संसद केवल भाषण र बहसमा सीमित हुनु हुँदैन भनेको बताइन्। उनले भनिन्, “लोकतन्त्र केवल भाषण र बहसले होइन, परिणामले बलियो हुन्छ। बहस आवश्यक छ, तर यदि बहस केवल बहसमै सीमित रह्यो भने यसले जनताको विश्वास कमजोर बनाउँछ।”

उनको भनाइ अनुसार, यसपटकको संसद जनताको मुद्दामा केन्द्रित, समाधान उन्मुख र परिणाममुखी हुनुपर्छ। नयाँ उर्जासहित आएका सांसद र दीर्घ संसदीय अनुभव बोकेका अग्रजहरूको उपस्थिति संसदलाई अझ परिपक्व बनाउने विश्वास उनले व्यक्त गरिन्।

मन्त्री गौतमले थपिन्, “यसपटकको बहस अर्थपूर्ण, उत्तरदायी र परिणाम दिने हुनुपर्छ, ताकि संसद जनताको अपेक्षाको साँचो प्रतिविम्ब बन्न सकोस्।”