काठमाडौँ — नेपाली कांग्रेस ले १५ औं महाधिवेशनको प्रक्रिया अगाडि बढाउँदै ७७ वटै जिल्लामा खटिने केन्द्रीय प्रतिनिधिहरूको नामावली सार्वजनिक गरेको छ।
पार्टीले आगामी वैशाखदेखि जिल्लामा खटिने केन्द्रीय प्रतिनिधिहरूसँग शनिबार सानेपामा अन्तरसंवाद समेत गरेको थियो। महामन्त्री प्रदीप पौडेल का अनुसार प्रतिनिधिहरूले वैशाख महिनाभर जिल्लामा बसेर सदस्यता वितरण अभियानलाई व्यवस्थित गर्ने, पुरानो सदस्यता अद्यावधिक गर्ने तथा नयाँ सदस्यता वितरणका लागि विधानअनुसारको व्यवस्था लागू गर्ने जिम्मेवारी पाउनेछन्।
महाधिवेशनको तयारीस्वरूप कांग्रेसले वैशाख १ गतेदेखि मसान्तसम्म देशभरका वडाहरूबाट क्रियाशील सदस्यता वितरण र अद्यावधिक गर्ने कार्यतालिका तय गरेको छ। यसका लागि पार्टीले एक महिने सदस्यता अद्यावधिक अभियान सञ्चालन गर्ने जनाएको छ।
कार्यतालिकाअनुसार वडास्तरबाट संकलित क्रियाशील सदस्यता १५ जेठसम्म प्रतिनिधिसभा क्षेत्र र जिल्ला तहमा पठाइसक्नुपर्नेछ। त्यसपछि सम्बन्धित निकायले २५ जेठसम्म विवरण ‘इन्ट्री’ गरेर केन्द्रमा पठाउने व्यवस्था गरिएको छ।
केन्द्रले सदस्यतामाथि आवश्यक छानबिन गरी १५ असारसम्म अन्तिम टुंगो लगाउनेछ भने असार मसान्तसम्म अद्यावधिक क्रियाशील सदस्यहरूको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाइनेछ।
यसअघि नेपाली कांग्रेस को केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज १६–१९ गते १५ औं महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका पारित गरिसकेको छ।





फेसबुकबाट तपाईको प्रतिक्रिया