नेपालको परराष्ट्र नीति राष्ट्रिय हित र आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्छ : नारायणप्रकाश साउद

120 Shares

काठमाडौँ — नेपाली काँग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री नारायणप्रकाश साउद ले नेपालको परराष्ट्र नीति राष्ट्रिय हित, सुरक्षा र आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ।

राष्ट्रिय जनमोर्चा ले आयोजना गरेको ‘निर्वाचनको मूल्याङ्कन तथा नेपालको परराष्ट्र नीतिबीचको अन्तरसम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले परराष्ट्र नीति र निर्वाचनबीच आन्तरिक तथा बाह्य सन्तुलन आवश्यक हुने बताउनुभयो।

नेपालको संविधानले आत्मसात गरेको असंलग्न परराष्ट्र नीतिलाई स्मरण गराउँदै साउदले व्यवहारिक रूपमा पनि असंलग्न रहनु नै देशको हितमा रहेको उल्लेख गर्नुभयो। नेपाल भारतचीन जस्ता दुई ठूला उदीयमान अर्थतन्त्रबीच अवस्थित भएकाले सन्तुलित कूटनीति अपरिहार्य रहेको उहाँको भनाइ छ।

उहाँले बढ्दो व्यापार घाटा र परनिर्भरताप्रति चिन्ता व्यक्त गर्दै परराष्ट्र नीतिलाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

हालैको निर्वाचन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयबारे टिप्पणी गर्दै साउदले नयाँ शक्तिहरूसामु चुनौतीहरू रहेको बताउनुभयो। विशेषगरी वैदेशिक रोजगारीमा गएका युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउन नसके भविष्यमा असन्तोष बढ्न सक्ने उहाँले चेतावनी दिनुभयो।

उहाँका अनुसार आन्तरिक रूपमा राजनीतिक दलहरू परिपक्व भएर राष्ट्रिय मुद्दामा एकजुट नभएसम्म बाह्य शक्तिहरूले हस्तक्षेप गर्ने सम्भावना रहन्छ। त्यसैले आन्तरिक सुरक्षा, अखण्डता र सार्वभौमिकता पहिलो प्राथमिकता हुनुपर्ने उहाँको जोड छ।

छिमेकी देशहरूमा दीर्घकालीन राजनीतिक स्थिरता रहेको उदाहरण दिँदै उहाँले नेपालमा बारम्बार हुने सरकार परिवर्तनले विकासमा अवरोध पुर्‍याएको उल्लेख गर्नुभयो। राष्ट्रिय मुद्दाहरूमा न्यूनतम सहमति र स्थिरता आवश्यक रहेको उहाँको निष्कर्ष छ।