‘काँग्रेसको हार स्वइङ भोटका कारण, अब मत सिफ्ट हुन दिनु हुँदैन’ — डा. शेखर कोइराला

110 Shares

काठमाडौं — शेखर कोइरालाले गत निर्वाचनमा नेपाली काँग्रेसको पराजयलाई ‘स्वइङ भोट’ को परिणाम भएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित विपी स्मृति सामुदायिक सहकारी अस्पतालको १८औं वार्षिक साधारण सभामा बोल्दै उनले मतदाताले पार्टी नछोडेको तर मत मात्रै फेरेको दाबी गरे।

उनका अनुसार काँग्रेसको संसदमा कमजोर उपस्थितिको मुख्य कारण जनताको चाहना र बदलिँदो राजनीतिक ‘हावाहुरी’ लाई बुझ्न नसक्नु हो। अबको राजनीतिक प्रतिस्पर्धा वामपन्थीहरूसँग मात्र नभई ‘लिबरल डेमोक्रेट्स’ सँग हुने भएकाले संगठन बलियो बनाउनुपर्नेमा उनले जोड दिए।

कोइरालाले विशेष अधिवेशनको विषय उठाउँदै आफूले सुरुदेखि नै केन्द्रीय समितिबाट निर्णय गरेर अगाडि बढ्नुपर्ने अडान राखेको स्मरण गराए। विशेष अधिवेशनबाट गगन थापा सभापति बनेको प्रसंग जोड्दै उनले यसबारे शेरबहादुर देउवापूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा दिएको मुद्दा विचाराधीन रहेको बताए।

अदालतको निर्णय जे आए पनि पार्टीलाई एकताबद्ध बनाउने आफ्नो प्रयास जारी रहने उनको भनाइ थियो। उनले आफू कुनै गुट वा समूहमा नरहेको स्पष्ट पार्दै सामाजिक सञ्जाल वा पार्टीभित्रबाट हुने आलोचनाले आफूलाई असर नगर्ने बताए।

उनले अन्त्यमा नेपाली काँग्रेसलाई फेरि पहिलो पार्टी बनाउने लक्ष्यसहित सबैलाई एकजुट हुन आह्वान गरेका छन्।