प्रधानमन्त्री बालेन शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

129 Shares

काठमाडौं – प्रधानमन्त्री **बालेन्द्र शाह (बालेन)**को प्रेस तथा अनुसन्धान विज्ञ पदमा पत्रकार तथा लेखक दिपा दाहाल नियुक्त भएकी छन्।

प्रधानमन्त्रीको सल्लाहकार तथा सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ अनुसार शुक्रबार नियुक्त भएकी दाहालले सोही दिनदेखि कार्यभार सम्हालेकी हुन्।

दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय दाहालले प्रधानमन्त्रीको सञ्चार रणनीति, मिडिया व्यवस्थापन र अनुसन्धान कार्यमा भूमिका निर्वाह गर्नेछिन्।

भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक न्यायका क्षेत्रमा लामो अनुभव भएकी दाहालले रेडियो, टेलिभिजन, छापा र अनलाइन माध्यममा २० वर्षभन्दा बढी काम गरेकी छन्। उनी पछिल्लो समय उकालो डट कममा वरिष्ठ संवाददाताका रूपमा कार्यरत थिइन्।

दाहालले पद्मकन्या बहुमुखी क्याम्पसमा पत्रकारिता अध्यापन गर्दै आएकी छन् र ‘कोभिड : नसोचेको, नभोगेको संकट’ नामक पुस्तक पनि लेखेकी छन्।