काठमाडौं । मिथिलाञ्चलमा आज चैती छठ अन्तर्गत अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिँदैछ । गत आइतबारदेखि सुरु भएको चैती छठ पर्वको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्न लागिएको हो ।
बुधबार बिहानै उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै पर्वको समापन हुनेछ । कार्तिक महिनामा मनाइने छठ पर्व जतिको संख्यामा श्रद्धालु भक्तजनहरू नभए पनि बिस्तारै चैती छठ पर्व गर्नेहरूको संख्या पनि बढ्दै गइरहेको छ । चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने पञ्चमीका दिन खरना पर्व मनाइन्छ । खरनाको अवसरमा व्रतालुहरूले निराहार उपवास बसी साँझपख षष्ठी देवीलाई प्रसाद चढाई खाने गर्दछन् । प्रसादमा खीर, केरा, दूध एवं विभिन्न प्रकारका फलफूल चढाइने गरिन्छ ।
पर्वको दोस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिन व्रतालुहरूले साँझ सूर्य अस्ताउने प्रतीक्षा गर्दछन् । त्यस क्रममा सूर्य अस्ताउनु एक घण्टा पूर्वदेखि नै व्रतालुहरू पोखरीमा प्रवेश गरी षष्ठी माताको ध्यान गर्दै सूर्य देवलाई अर्घ्य दिने गर्दछन् । अर्घ्यमा मुला, उखु, भन्टा, ठकुवा, भुसवा, केरा, नरिवल लगायतका सामग्रीहरू चढाउने गरिन्छ । सन्ध्या अर्घ्यपश्चात् रातभर व्रतालुहरू जाग्राम बसेर भोलिपल्ट चैत शुक्ल सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्वको समापन गर्ने परम्परा रहेको छ । चैती छठका लागि जनकपुरधामको गंगासागर, धनुषसागर, अरगज्जा सर लगायतका पोखरीका साथै गाउँगाउँमा श्रद्धालु भक्तजनहरू चैती छठ पर्व मनाउँदैछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया