कांग्रेस केन्द्रीय समिति बैठक आज, १५औँ महाधिवेशनको तयारी मुख्य एजेन्डा

122 Shares

काठमाडौँ । नेपाली कांग्रेस को केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बस्दैछ। बैठक दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको हो।

पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल का अनुसार बैठकमा पार्टीको १५औँ महाधिवेशनको विषयमा छलफल हुनेछ। कांग्रेसले आगामी असोजमा नियमित महाधिवेशन आयोजना गर्ने तयारी गरिरहेको छ भने सोही सम्बन्धी प्रस्ताव बैठकमा पेश गरिने बताइएको छ।

यसैबीच, सभापति गगन थापा को राजीनामा अस्वीकृत गरिसकेको कांग्रेस उहाँकै नेतृत्वमा महाधिवेशनमा जाने तयारीमा रहेको छ। बैठकको अध्यक्षता पनि थापाले नै गर्ने बुझिएको छ।

कांग्रेसले गत पुसमा विशेष महाधिवेशन सम्पन्न गरी थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो। तर, गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजयपछि थापाले पदबाट राजीनामा दिएका थिए।

उक्त राजीनामा भने यसअघि बसेको केन्द्रीय कार्यसमितिको बैठकले अस्वीकृत गरिसकेको छ।