काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाले आगामी अध्यक्ष अञ्जन श्रेष्ठको कार्यकाल महासंघका लागि अभूतपूर्व हुने विश्वास व्यक्त गर्नुभएको छ।
उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै गोल्छाले श्रेष्ठ एक प्रभावशाली र साहसी उद्यमी भएको उल्लेख गर्नुभयो। नयाँ क्षेत्रमा प्रवेश गर्दै सफल व्यवसायीका रूपमा आफूलाई स्थापित गरेका कारण उहाँको नेतृत्व प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।
गोल्छाले महासंघमा नेतृत्व परिवर्तनको नयाँ परिपाटी सुरु हुन लागेको उल्लेख गर्दै आगामी नेतृत्वलाई बलियो बनाउन सबैको साझा जिम्मेवारी रहेको बताउनुभयो। अध्यक्षलाई सफल बनाउन उहाँले चाहेको सहयात्री (टिम) आवश्यक हुने भन्दै त्यसका लागि सहयोग गर्न आग्रह गर्नुभयो।
“प्रधानमन्त्रीले आफूले रोजेको टिम पाएपछि मात्र कार्यकाल सफल हुन्छ, त्यसैगरी अध्यक्षलाई पनि आफूले चाहेको टिम आवश्यक हुन्छ,” गोल्छाले भन्नुभयो।
लामो समयपछि देशभरका उद्योगी व्यवसायीसँग प्रत्यक्ष संवाद गर्न पाउँदा खुशी लागेको समेत उहाँले व्यक्त गर्नुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया