निजी क्षेत्रको एकतामै आर्थिक उपलब्धि सम्भव: अग्रवाल

105 Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले निजी क्षेत्रका प्रमुख संस्थाहरूबीचको एकता र सहकार्यबाट मात्रै मुलुकमा आर्थिक उपलब्धि हासिल गर्न सकिने बताउनुभएको छ।

नेपाल उद्योग वाणिज्य महासंघको उम्मेदवार घोषणा सभामा बोल्दै अध्यक्ष अग्रवालले निजी क्षेत्र विभाजित हुँदा सरकार अलमलमा पर्ने र त्यसको असर समग्र अर्थतन्त्रमा पर्ने उल्लेख गर्नुभयो।

आफ्नो दुई वर्षे कार्यकालमा महासंघसँग अत्यन्त सौहार्दपूर्ण र प्रभावकारी सहकार्य भएको स्मरण गर्दै उहाँले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले बुझाएको प्रतिवेदन निजी क्षेत्रको साझा सहमतिको दस्तावेज भएको बताउनुभयो।

अग्रवालले आगामी नेतृत्वबाट पनि यस्तै सहकार्य र एकताको अपेक्षा व्यक्त गर्दै लगानी सम्मेलनदेखि आर्थिक सुधारसम्मका कार्यमा निरन्तर समन्वय भएको जानकारी दिनुभयो।

उहाँले निजी क्षेत्रका विभिन्न संस्थाबीच फरक मत हुँदा सरकारले त्यसलाई बहाना बनाएर निर्णय प्रक्रियामा ढिलाइ गर्ने गरेको उल्लेख गर्दै सबैलाई एकताबद्ध हुन आग्रह गर्नुभयो।

साथै, उम्मेदवारी घोषणा गर्ने उद्यमी व्यवसायीहरूलाई शुभकामना दिँदै निर्वाचनमा सहमतिका साथ अघि बढ्न र निजी क्षेत्रको हकहितमा सक्रिय रहन आह्वान गर्नुभयो।