महासंघ चुनावमा सर्वसम्मत नेतृत्वको आग्रह

119 Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाज सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गर्नुभएको छ।

महासंघको निर्वाचनको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले प्यानलगत विभाजनले निजी क्षेत्र कमजोर हुने भन्दै समझदारी र एकतामा जोड दिनुभयो। देशमा दुई तिहाइको स्थायी सरकार गठन हुने क्रममा रहेकाले यस्तो बेला निजी क्षेत्र एकढिक्का हुनुपर्ने उहाँको भनाइ थियो।

उहाँले एकीकृत रूपमा आवाज उठाए मात्रै सरकारले निजी क्षेत्रका मुद्दा सुन्ने उल्लेख गर्दै उम्मेदवारहरूलाई इगो त्यागेर सहमतिमा जान सुझाव दिनुभयो। विधान संशोधनपछि पद संख्या बढेकाले सर्वसम्मत नेतृत्व चयन गर्न सहज हुने उहाँले बताउनुभयो।

अध्यक्ष ढकालले आफ्नो विगतको निर्वाचन अनुभव सुनाउँदै भोट दिने प्रतिबद्धता जनाउने सबैले अन्ततः मतदान नगर्ने यथार्थलाई बुझ्न पनि उम्मेदवारहरूलाई आग्रह गर्नुभयो।

उहाँले निजी क्षेत्रको एउटै बलियो आवाजका लागि एकताको विकल्प नभएको निष्कर्ष निकाल्दै पदाधिकारी तहमा कम्तीमा सर्वसम्मत नेतृत्व चयन गर्न आह्वान गर्नुभयो।

यसैबीच, महासंघको संशोधित विधानले जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूको प्रतिनिधित्व र अधिकारलाई अझ व्यापक बनाएको पनि उहाँले उल्लेख गर्नुभयो।