काठमाडौं । उज्यालो नेपाल पार्टीले केन्द्रीय तहमा नयाँ पदाधिकारी तथा सचिवालय सदस्यहरूको मनोनयन गरेको छ।
पार्टीको संघीय कार्यालय काठमाडौंमा बसेको केन्द्रीय कार्यसमिति बैठकले अध्यक्षलाई प्रदान गरिएको अधिकार प्रयोग गर्दै उक्त मनोनयन गरेको हो। पार्टी विधान २०८२ को परिमार्जित व्यवस्थाअनुसार विभिन्न पदमा नयाँ नेतृत्व चयन गरिएको जनाइएको छ।
मनोनयनअनुसार कुलमान घिसिङलाई अध्यक्ष, अनुप कुमार उपाध्यायलाई वरिष्ठ नेता तथा डा. महेन्द्र लावतीलाई उपाध्यक्षको जिम्मेवारी दिइएको छ।
त्यसैगरी धर्म चौधरी महासचिव, जित राम लामा उपमहासचिव तथा डा. राजु थापा मुख्य सचिव नियुक्त भएका छन्। श्रीराम गुरुङ प्रवक्ता तोकिएका छन् भने केदार खड्का, रामेश्वर श्रेष्ठ र सुमन मोलागाईं सचिव नियुक्त भएका छन्। भगवती कक्षपतिलाई कोषाध्यक्ष बनाइएको छ।
सचिवालय सदस्यहरूमा ठमर विक, महेन्द्र थापा, नरबहादुर कार्की, कुशल गुरुङ, राजाराम तण्डुकार, राजेन्द्र अवस्थी, ज्योत्सना सैंजु, तेजनारायण यादव, मनीषा कुमारी र किशोरी कार्की चयन भएका छन्।
पार्टीले देशव्यापी संगठन विस्तार, नीति निर्माण तथा राजनीतिक सक्रियता बढाउने उद्देश्यसहित नयाँ नेतृत्व गठन गरिएको जनाएको छ। नवमनोनित पदाधिकारीहरूले पार्टीलाई सुदृढ बनाउँदै जनतामाझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उक्त निर्णय फागुन ३० गते बसेको केन्द्रीय कार्यसमिति बैठकबाट पारित भएको हो।
फेसबुकबाट तपाईको प्रतिक्रिया