काठमाडौँ । ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न योगदान पुर्याउने गृह मन्त्रालयका कर्मचारी तथा सुरक्षा निकायलाई सम्मान गर्नुभएको छ।
गृह मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले विभिन्न निकायका प्रमुख तथा अधिकारीहरूलाई प्रशंसापत्र प्रदान गर्नुभएको हो। सम्मानित हुनेमा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, नेपाली सेनाका बलाध्यक्ष प्रदीपजङ्ग केसी, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की रहेका छन्।
साथै काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सुरक्षा समितिका पदाधिकारी तथा अन्य उच्च अधिकारीहरूलाई पनि सम्मान गरिएको छ। मन्त्री अर्यालले निर्वाचनमा खटिएका सबै कर्मचारी र सुरक्षाकर्मीलाई बधाई दिँदै उनीहरूको भूमिकाको उच्च मूल्यांकन गर्नुभयो।
उनले निर्वाचन ऐतिहासिक रूपमा सफल भएको उल्लेख गर्दै यसपटक रक्तपात नभएको र पुनः निर्वाचन गर्नुपर्ने अवस्था नआएको बताए। “सामूहिक नेतृत्व र सरोकारवालाबीचको बलियो समन्वयका कारण सकारात्मक परिणाम हासिल भएको हो,” उनले भने।
मन्त्री अर्यालले केन्द्रदेखि जिल्ला तहसम्मका सुरक्षा संयन्त्र, समन्वय संरचना र जिम्मेवार अधिकारीहरूको भूमिका राज्यका लागि महत्वपूर्ण र उदाहरणीय रहेको उल्लेख गर्नुभयो।
यसैबीच, आनन्द काफ्लेले गृह मन्त्रालयको समन्वयकारी नेतृत्वका कारण निर्वाचन सुरक्षा र शान्ति सुव्यवस्था कायम राख्न सफलता मिलेको बताए।
फेसबुकबाट तपाईको प्रतिक्रिया