शेयर बजार उकालोमा, नेप्से ५७.५५ अंकले बढ्यो

133 Shares

काठमाडौँ — साताको पहिलो कारोबार दिन नेपाली शेयर बजारमा सकारात्मक उछाल आएको छ। बिहान बजार खुलेदेखि नै क्रमिक रूपमा बढ्दै नेप्से परिसूचक ५७.५५ अंकको वृद्धिसहित २,७७२ अंकको उच्च विन्दुमा पुगेको छ।

कारोबारमार्फत परिसूचकसँगै कारोबार रकममा समेत उल्लेख्य वृद्धि भएको छ। नेप्सेमा सूचीबद्ध १३ वटै उपसमूहको परिसूचक वृद्धि भएको देखिएको छ। यसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.३५ प्रतिशतले बढेको छ। यस्तै, जलविद्युत, लगानी, जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहका परिसूचकहरू पनि २ प्रतिशतभन्दा बढीले वृद्धि भएका छन्।

आज एसवाई प्यानल नेपाल, श्रीनगर एग्रीटेक, नेपाल माइक्रो इन्स्योरेन्स, बन्दीपुर केबलकार, हिमस्टार उर्जा, माबिलुङ्ग इनर्जी, रिलायन्स फाइनान्स, आँखुखोला जलविद्युत कम्पनी र त्रिशुली जलविद्युत गरी नौ वटा कम्पनीका शेयरमा सकारात्मक सर्किट लागेको छ।

तर, एभरेष्ट बैंकको डिबेञ्चर २०८५ को शेयर मूल्यले लगानीकर्तालाई सर्वाधिक ५.८० प्रतिशत घाटा दिएको छ।

दिनभरमा ३३१ वटा स्टकका कुल ३ करोड ९ लाख १५ हजार भन्दा बढी कित्ता शेयर कारोबार भएका छन्, जसको कुल मूल्य १३ अर्ब ७८ करोड ५७ लाख २९ हजार रुपैयाँ बराबर रहेको छ।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनीको शेयरले सबैभन्दा बढी ४३ करोड ५९ लाख रुपैयाँको कारोबार गरेका छन्। त्यसैगरी ग्रीन भेन्चर्स लिमिटेडको शेयर ३९.५ करोड र शिवम् सिमेन्ट्सको ३२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।