प्रतिनिधिसभा निर्वाचन नजिकिँदा सेयर बजार बढ्यो, नेप्से ३१.१२ अंकले उक्लियो

130 Shares

काठमाडौं । मुलुकमा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा आज (आइतबार) सेयर बजारमा सबै सूचकहरूमै वृद्धी देखिएको छ।

नेप्से परिसूचक ३१.१२ अंकले बढेर २६७२ अंकमा पुगेको छ। कारोबार सुरु भएदेखि दिनभर बजार हरियो रह्यो भने कुल कारोबार रकम ८ अर्ब ४० करोड पुगेर अघिल्लो कारोबार दिनको ६ अर्ब २० करोडको भन्दा बढेको छ।

विश्लेषकहरूका अनुसार फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन नजिकिँदा राजनीतिक दलहरूले उम्मेदवार घोषणा गरिरहेका छन्, जसले लगानीकर्तामा चुनावप्रतिको विश्वास बढाएको र बजारमा सकारात्मक प्रभाव परेको छ।

आज २२४ कम्पनीको मूल्य बढ्दा ३१ कम्पनीको मूल्य घटेको र ५ कम्पनीको मूल्य स्थिर रहेको छ। समूहगत सूचकहरूमा सबैले वृद्धी देखाएको छ। प्रमुख समूहका वृद्धी दरहरू यस प्रकार छन्:

  • फाइनान्स: ५.७३%

  • विकास बैंक: ३.०३%

  • बैंकिङ: ०.८५%

  • होटल/पर्यटन: २.०२%

  • हाइड्रोपावर: ०.७०%

  • लगानी: ०.९३%

  • जीवन बीमा: १.२५%

  • उत्पादन/प्रशोधन: २.४२%

  • माइक्रोफाइनान्स: १.३१%

  • निर्जीवन बीमा: ०.६८%

  • अन्य: ०.४५%

  • व्यापार: ०.५४%

आज ४ कम्पनीको मूल्य १०% ले बढेको छ। ती कम्पनीहरू हुन्: सागर डिस्टिलरी, उन्नति सहकार्य लघुवित्त, श्रीनगर एग्रिटेक र गोर्खाज फाइनान्स।

त्यस्तै, सेन्ट्रल फाइनान्स ८.८८%, गुराँस लघुवित्त ८.८६%, र बन्दीपुर केबुलकार ७.४७% ले मूल्य बढाएका छन्।

सबैभन्दा धेरै घटेको कम्पनी थ्रीस्टार हाइड्रोपावर हो, जसको मूल्य ८.७८% ले घटेको छ। आज धेरै कारोबार भएका कम्पनीहरूमा मञ्जुश्री फाइनान्स, एसवाई प्यानल, श्रीनगर एग्रिटेक, बन्दीपुर केबुलकार र राधि विद्युत् रहेका छन्।