उपसभापति शर्मा : आन्दोलनको धम्कीले निर्वाचन आयोग प्रभावित हुँदैन

207 Shares

काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन आयोग आन्दोलनको धम्कीबाट प्रभावित नहुनेमा विश्वास व्यक्त गरेका छन्।

निर्वाचन आयोगका पदाधिकारीसँग भेटघाट गर्दै उपसभापति शर्माले केन्द्रीय कार्यालयमा केहीबेरअघि भएको पत्रकार सम्मेलनको सन्दर्भ कोट्याउँदै यस्तो बताएका हुन्। शेरबहादुर देउवा नेतृत्वको कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलनमा ‘हाम्रो नेतृत्वलाई निर्वाचन आयोगले मान्यता नदिए देशभर आन्दोलन गर्ने’ चेतावनी दिएका थिए।

उपसभापति शर्माले भने,

“पार्टीका केही पूर्वपदाधिकारीसहितका साथीहरू आज निर्वाचन आयोग आउनुभएको थाहा पाएपछि केही कुरा स्पष्ट पार्न आवश्यक छ भनी हामी यहाँ आएका छौं। केहीबेरअघि पत्रकार सम्मेलनमा ‘निर्वाचन आयोगले हाम्रो पक्षमा निर्णय दिएन भने देशभर आन्दोलन गर्छौं’ भनिएको सुनेका छौं। तर, निर्वाचन आयोग यस्ता धम्कीबाट प्रभावित हुँदैन र आफ्नो निष्ठा भुल्दैन भन्नेमा हामी विश्वस्त छौं।”

उनले निर्वाचन आयोगको स्वायत्तता र निष्पक्षताप्रति पूर्ण भरोसा रहेको उल्लेख गरे।