बैंक तथा वित्तीय संस्थाको कर्जा असुलीमा सुधार, नाफा ३४ प्रतिशतले वृद्धि

143 Shares

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंक तथा वित्तीय संस्थाको कर्जा असुलीमा उल्लेख्य सुधार देखिएको छ । कर्जा असुलीमा सुधार आएसँगै कर्जा नोक्सानी व्यवस्थाबाट फिर्ता हुने रकम बढ्दा बैंकहरूको नाफामा पनि उल्लेख्य वृद्धि भएको हो ।

चालु आर्थिक वर्षको मंसिर महिनामा बैंक तथा वित्तीय संस्थाको कुल नाफा ३४ प्रतिशतले बढेको छ । नाफा वृद्धिको मुख्य कारण कर्जा नोक्सानी व्यवस्थाबाट ठूलो रकम फिर्ता हुनु र कर्जा अपलेखन बढ्नु रहेको छ । केन्द्रीय बैंकका अनुसार मंसिरसम्म बैंक तथा वित्तीय संस्थाले कर्जा नोक्सानी व्यवस्थाबाट मात्रै १७ अर्ब १० करोड रुपैयाँ फिर्ता गरेका छन्, जुन रकम सिधै नाफामा गणना हुन्छ ।

यस अवधिमा गैर–बैंकिङ सम्पत्तिमा कर्जा नोक्सानी न्यून रहनु, विदेशी मुद्राको कारोबार तथा विनिमय दरको उतारचढावबाट भएको आम्दानीले पनि नाफामा थप सहयोग पुर्‍याएको छ । मंसिरसम्म विदेशी विनिमय कारोबारबाट हुने आम्दानी कात्तिकको तुलनामा २८.९१ प्रतिशतले बढेको छ । सोही अवधिमा कर्जा नोक्सानी भने ३.८ प्रतिशतले मात्रै बढेको छ, जसले कर्जा डिफल्ट दर न्यून रहेको संकेत गर्दछ ।

बैंक तथा वित्तीय संस्थाको कर्जा अपलेखन पनि बढेर मंसिरसम्म २१ करोड रुपैयाँ पुगेको छ । यसैगरी, मंसिरसम्म ब्याज आम्दानी २३.२५ प्रतिशतले बढ्दा ब्याज खर्च २२.६३ प्रतिशतले वृद्धि भएको छ ।

बैंकहरूले निक्षेपकर्तालाई दिने ब्याजदर क्रमशः घट्दै गएकाले ब्याज खर्चमा कमी आई नाफामा सुधार आएको एक बैंकरले बताए । उनका अनुसार पछिल्लो समय आर्थिक गतिविधि अपेक्षित रूपमा विस्तार नभए पनि पुराना कर्जा असुलीमा सुधार हुँदा बैंकहरूको वित्तीय अवस्था सुदृढ बन्दै गएको छ ।

‘नयाँ कर्जा लगानी भएको छैन, तर पुराना कर्जा उठ्दै गएकाले नोक्सानी फिर्ता बढेको छ,’ ती बैंकरले भने, ‘नयाँ व्यवसाय विस्तार नभए पनि पुरानै व्यवसायबाट रकम असुल हुँदा नाफामा सुधार सम्भव भएको हो ।’

केन्द्रीय बैंकका अनुसार चालु आर्थिक वर्षको मंसिरसम्म बैंक तथा वित्तीय संस्थाले कुल २८ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । यो नाफा कात्तिकसम्मको तुलनामा ३३.७६ प्रतिशतले बढी हो । कात्तिकसम्म खुद नाफा २१ अर्ब ३१ करोड रुपैयाँ थियो । यद्यपि, गत आर्थिक वर्षको मंसिरसम्म बैंक तथा वित्तीय संस्थाको खुद नाफा ३३ अर्ब ९७ करोड रुपैयाँ रहेको थियो ।

गत आवको मंसिरसम्म कर्जा नोक्सानी व्यवस्थाबाट फिर्ता भएको रकम १८ अर्ब २५ करोड रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ ।

संस्थागत रूपमा हेर्दा, मंसिरसम्म वाणिज्य बैंकहरूको खुद नाफा २५ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी विकास बैंकहरूको २ अर्ब ५७ करोड र फाइनान्स कम्पनीहरूको २२ करोड रुपैयाँ खुद नाफा रहेको केन्द्रीय बैंकले जनाएको छ ।