समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिनेः निर्वाचन आयोग

260 Shares

काठमाडाैं। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ ५८ वटा चुनाव चिन्हसहित मतपत्र छापिने जनाएको छ।

आयोगले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले यसबारे जानकारी दिनुभयो। उहाँका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन ९३ वटा राजनीतिक दलले नाम दर्ता गराएका थिए। तीमध्ये ६४ वटा दलले मात्र समानुपातिकतर्फको बन्दसूची पेश गरेका छन्।

बन्दसूची पेश गर्ने दलहरूमध्ये ५४ वटा दलले आफ्नै निर्वाचन चिन्ह प्रयोग गरी निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् भने बाँकी १० वटा दलले विभिन्न क्लस्टरमा रही ४ वटा साझा निर्वाचन चिन्हमार्फत निर्वाचनमा भाग लिने गरी बन्दसूची पेश गरेका छन्।

प्रवक्ता भट्टराईले यसअघि बन्दसूची पेश हुनुअघि नै सबै दलका चुनाव चिन्ह समेटेर मतपत्र छपाइँ गरिँदै आएको उल्लेख गर्दै यसपटक भने समानुपातिक बन्दसूची पेश गरेका दलहरूको चुनाव चिन्ह मात्र राखेर मतपत्र छापिने जानकारी दिनुभयो। हालसम्मको विवरणअनुसार समानुपातिकतर्फ प्रयोग हुने निर्वाचन चिन्हको संख्या ५८ रहने करिब निश्चित भएको उहाँले बताउनुभयो। यद्यपि बन्दसूचीको रुजु प्रक्रिया जारी रहेकाले कुनै दलको सूची अस्वीकृत भएमा उक्त संख्या घट्न सक्ने उहाँको भनाइ छ।

त्यसैगरी, प्रवक्ता भट्टराईले समानुपातिक बन्दसूचीमा क्लस्टर नमिलेको अवस्था वा बन्दसूचीमा समावेश उम्मेदवारले नाम फिर्ता लिन चाहेमा मात्र नाम परिवर्तन गर्न सकिने स्पष्ट पार्नुभयो। अन्तिम सूची प्रकाशित भइसकेपछि भने कुनै पनि प्रकारको संशोधन गर्न नमिल्ने उहाँले जानकारी दिनुभयो।

यसैबीच, निर्वाचनमा पर्यवेक्षण गर्न ४० वटा पर्यवेक्षण संस्थाले आयोगबाट अनुमति पाएको पनि उहाँले जानकारी दिनुभयो।