औषधी व्यवसायीहरूको चेतावनी ः माग पूरा नभए कठोर निर्णय लिन बाध्य हुन्छौँ

30 Shares

काठमाडौँ । औषधी व्यवसायीहरूले औषधी व्यवस्था विभागमा धर्ना दिएका छन् । आइतबार बिहान व्यवसायीहरूले विभागमा धर्ना दिएका हुन् ।  उनीहरुले औषधि ऐन, २०३५ को दफा ११ को उपदफा ५ खारेज गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएका व्यवसायीहरूले हातमा कालोपट्टि बाँधेर उक्त उपदफाको विरोध गरेका छन् । विरोध कार्यक्रममा बोल्दै नेपाल औषधि सङ्घ, काठमाडौँ जिल्ला शाखाका महासचिव शोभमान श्रेष्ठले औषधी ऐन, दफा ११ लाई संशोधन गर्दा औषधी व्यवसायीहरूलाई पलायन गर्न खोजिएको आरोप लगाए ।उनले उक्त दफाको उपदफा ५ तत्काल खारेज गर्न माग गरे । सरकारले मङ्सिर १७ गतेसम्म पनि आफूहरूका माग पूरा नगरे कठोर निर्णय लिएर आन्दोलनमा उत्रिने उनले चेतावनी दिए । सेवाग्राहीको स्वास्थ्यलाई ख्याल गरेर अहिलेसम्म औषधी पसलहरू खोलिरहेको बताउँदै श्रेष्ठ आइतबार दिनको १ घण्टा, सोमवार २ घण्टा गर्दै क्रमशः १७ गतेसम्म एक घण्टा बढाएर पसल बन्द गर्ने चेतावनी दिए । केही समय यता औषधि व्यवसायीहरूले आफ्नो मागहरु पूरा गर्न माग गर्दै धर्ना दिइरहेका छन् ।