काठमाण्डौ – आजदेखि अण्डाको नयाँ मूल्य लागू भएको छ । हिजो बसेको नेपाल लेयर्स कुखुरापालक सङ्घको बैठकले आजदेखि लागू हुनेगरी न्यूनतम समर्थन मूल्य निर्धारण गरेको सङ्घका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए। उनका अनुसार तोकिएको नयाँ मूल्यले किसानको लागत उठाउनेछ । नयाँ दरअनुसार अति ठूलो अण्डा प्रतिक्रेट अर्थात ३० वटाको ५ सय ६० रुपैयाँ, ठूलो अण्डा ५ सय ४५ रुपैयाँ र मध्यम अण्डा ५ सय ३० रुपैयाँ रहेको छ । अध्यक्ष पोखरेलका अनुसार अघिल्लो मूल्यभन्दा प्रतिक्रेट ४० ले वृद्धि भएको हो । किसानको फार्म लागतलाई आधार मानेर नयाँ मूल्यसूची तोकिएको अध्यक्ष पोखरेलले दाबी गरे । भारतले अण्डाको अबैध निर्यात रोकेकाले पनि यहाँ नयाँ मूल्य तोक्न सहज भएको छ । जाडोयाममा अण्डाको खपत बढ्ने गरेकोले यो समयमा अण्डाको भाउ बढ्ने गरेको भएपनि यसपाली उच्च वृद्धि भएको हो।
फेसबुकबाट तपाईको प्रतिक्रिया