काठमाण्डौ । भारतको एउटा अदालतले डाक्टरहरुको अक्षर सुधार गर्न आदेश दिएको छ ।
पन्जाब र हरियाणा उच्च अदालतले डाक्टरको अक्षरले जीवन र मृत्युबीच फरक पार्न सक्ने भन्दै पढ्न सकिने प्रेस्क्रिप्सन मौलिक अधिकार रहेको जनाएको छ ।
बलात्कार सम्बन्धि एउटा मुद्धाको सुनुवाइका क्रममा न्यायधीशले डाक्टरको प्रेस्क्रिप्सन अध्ययन गर्न खोजेका थिए । तर पढ्न असहज भएपछि मुद्धाको फैसलामा डाक्टरको अक्षर सुधारको समेत आदेश आएको बीबीसीले जनाएको छ ।
धेरै डाक्टरहरूको लेखाइ केवल औषधि पसलमा बस्ने फार्मासिस्टहरूले मात्रै बुझ्न सक्ने रहेको बेला अदालतको आदेशलाई महत्वपूर्ण मानिएको छ ।
अदालतले चिकित्सा पढाइ हुने विश्वविद्यालयहरूको पाठ्यक्रममा हस्तलेखनसम्बन्धी पाठहरू समावेश गर्न र डिजिटल प्रेस्क्रिप्सनमा परिवर्तित हुन दुई वर्षको समय सीमा तोक्न सरकारलाई आदेश दिएको छ ।
डिजिटल प्रेस्क्रिप्सनमा परिवर्तित नभएसम्म सबै चिकित्सकले प्रेस्क्रिप्सन क्यापिटल अक्षरमा लेख्नुपर्ने न्यायाधीश जसगुरप्रीत सिंह पुरीले आदेशमा उल्लेख गर्नुभएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया