प्रधानमन्त्री ओलीलाई भियतनाम भ्रमणका लागि आमन्त्रण
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका समकक्षी फाम मिन चिङबीच चीनको थियानजिनमा भेटवार्ता भएको छ ।
शाङ्घाई सहयोग सङ्गठन एससीओको शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा दुई प्रधानमन्त्रीबीच आज भेटवार्ता भएको हो ।
भेटका अवसरमा दुई देशबीचको सांस्कृतिक, कूटनीतिक र आर्थिक सम्बन्ध र सहकार्यका विविध पक्षमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भिमतनामी प्रधानमन्त्री चिङले उपराष्ट्रपति वो थी आन्ह सुआनको भर्खरैको नेपाल भ्रमणको स्मरण गर्दै प्रधानमन्त्री ओलीलाई भियतनाम भ्रमणका निम्ति आमन्त्रण गर्नुभयो ।
प्रधानमन्त्री ओलीले भियतनामको स्वतन्त्रताको लडाइँमा नेपालको ऐक्यबद्धता प्रकट गर्दै छोटो अवधिमा देशले गरेको प्रगति सबैका निम्ति प्रेरक रहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले नेपाल आउँदो वर्ष विकासशील देशमा स्तरोन्तति हुने अवगत गराउँदै पर्याप्त प्रतिफल प्राप्त हुने ऊर्जा क्षेत्रमा लगानी गर्न आह्वान गर्नुभयो । उहाँले समकक्षी चिङलाई नेपाल भ्रमणको निमन्त्रणा पनि गर्नुभयो ।
भेटमा भ्रमण दलमा सहभागी मन्त्री, सांसद र परराष्ट्र मन्त्रालयका उच्चाधिकारीको सहभागिता थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया