एजेन्सी । थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री पेतोङतार्न शिनावात्रालाई पदबाट हटाएको छ ।
अदालतले प्रधानमन्त्री शिनावात्रालाई पदबाट हटाउँदै मन्त्रिपरिषद् विघटन गरेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । शिनावात्रा सन् २००८ पछि संवैधानिक अदालतले पदबाट हटाएको थाइल्यान्डकी पाँचौं प्रधानमन्त्री बनेकी थिइन् ।
कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेनसँगको फोनवार्ता चुहावट भएपछि उत्पन्न विवादका कारण उहाँ गएको जुलाईमा निलम्बनमा परेकी हुन् ।
उनलाई थाई सेनाको उत्तरपूर्वी कमान्डरलाई आफ्नो प्रतिद्वन्द्वीका रूपमा उल्लेख गरेको र हुन सेनलाई ‘काका’ भनेर सम्बोधन गरेको कुराकानीले नागरिकमा आक्रोश निम्तिएको थियो ।
पेतोङतार्न शिनावात्रा थाइल्यान्डकी सबैभन्दा कान्छी प्रधानमन्त्री हुन् । उनले ३७ वर्षको उमेरमा पदभार ग्रहण गरेकी थिइन् । यस्तै उनी देशको दोस्रो महिला प्रधानमन्त्री पनि बनेकी थिइन् ।
शिनावात्रा परिवारले दशकौंदेखि थाई राजनीतिमा प्रभुत्व जमाउँदै आएको छ र पेतोंतार्नको पदबाट बहिर्गमन यस राजनीतिक परिवारका लागि ठूलो धक्का भएको विश्लेषण गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया