काभ्रेमा गत वर्ष नयाँ उद्योग दर्ता घट्यो, नवीकरण भने बढ्यो

430 Shares
  • ज्ञानमणि नेपाल कालोटोपी

धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लामा गत आर्थिक वर्ष २०८१/०८२ मा नयाँ उद्योग दर्ता घटेको छ भने नवीकरण भने बढेको छ । 

अघिल्लो वर्ष नयाँ उद्योग ६५२ वटा दर्ता भएकोमा गत वर्ष ५११ वटा मात्र दर्ता भएको उद्योग तथा वाणिज्य कार्यालय धुलिखेलले जनाएको छ । कार्यालयले दिएको तथ्यांक अनुसार गत वर्ष दर्ता भएका नयाँ उद्योगमा उत्पादनमुलक ४८, कृषि तथा वनजन्य उद्योग २५८ वटा, पर्यटन उद्योग ६९ वटा, सेवामुलक १३५ र सूचना प्रविधिसम्बन्धी एउटा उद्योग दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्ष ०८०/०८१ मा उत्पादनमुलक उद्योग ५६ वटा, कृषि तथा वनजन्य उद्योग ३६६ वटा, पर्यटन उद्योग ७९ वटा, सेवामुलक १५१ वटा गरि जम्मा ६५२ वटा उद्योग दर्ता भएका थिए । 

विगत ४ वर्षको तथ्यांक हेर्दा जिल्लामा हरेक वर्ष उद्योग दर्ताको अवस्था घट्दै आएको छ । ०७८/०७९ मा १ हजार ५७५ वटा उद्योग दर्ता भएकोमा ०७९/०८० मा ९८६ वटा, ०८०/०८१ मा ६५२ वटा र गत आर्थिक वर्षमा ५११ वटा दर्ता भएका छन् । यसरी उद्योग दर्ता घट्नुको कारण वैदेशिक रोजगारप्रति यूवाहरुको आकर्षण, लगानी नउठ्ने जोखिम र सरकारले लगानीकर्तालाई विश्वास दिलाउने कार्यक्रम ल्याउन नसक्नु मुख्य रहेका सरोकारवालाहरु बताउँछन् । 

यससँगै कार्यालयले संकलन गर्ने राजश्वमा भने केही बृद्धि देखिएको छ । अघिल्लो आर्थिक वर्ष ०८०/०८१ मा २ करोड ११ लाख ५६ हजार ८०० राजश्व संकलन गरेको कार्यालयले गत वर्ष २ करोड १३ लाख ५६ हजार ६९० राजश्व संकलन गरेको छ । जसमा उद्योग प्रशासनतर्फ १ करोड ३८ लाख ८७ हजार २१५ र वाणिज्य प्रशासनतर्फ ७४ लाख ६९ हजार ४७५ रहेको कार्यालयका सूचना अधिकारी मदनकुमार बजगाईंले जानकारी दिनुभयो । 

यस्तै गत वर्ष १ हजार ५७४ वटा उद्योग नवीकरण भएका छन् । २१६ वटा खारेजी भएका छन् भने ५५ वटा नामसारी, ६० वटा प्रतिलिपी, १६ वटा ठाउँसारी, ८२ वटा उद्योगको पूँजीबृद्धि गरिएको छ। अघिल्लो आर्थिक वर्ष ०८०/०८१ मा १ हजार ८६ वटा नवीकरण भएका छन् । १३९ वटा नामसारी, १९ वटा ठाउँसारी, ७ वटाको उद्देश्य थप, १२७ उद्योगको लगत कट्टा, ८५ वटाको प्रतिलिपी तथा १९२ वटाको पूँजी थप गरिएको छ ।  

यसैगरि गत आर्थिक वर्षमा १ हजार ३५२ वटा (वाणिज्यतर्फ) पसल/व्यवसाय नवीकरण भएका छन् । १९५ वटा खारेजी हुँदा ११ वटा पसल भने नामसारी भएका छन् । यस्तै १६ पसल ठाउँसारी, ५४ वटाको प्रतिलिपी र १२३ वटा उद्योगको पूँजीबृद्धि गरिएको छ । आर्थिक वर्ष ०८०/०८१ मा ९८१ वटा पसल/व्यवसाय नवीकरण भएका थिए । १२ वटाको नामसारी हुँदा १४ वटाको ठाउँसारी, ८ वटाको उद्देश्य संशोधन, १२२ वटाको लगतकट्टा, ६५ वटा प्रतिलिपी, १०० वटाको पूँजीबृद्धि गरिएको कार्यालय प्रमुख सिताराम घिमिरेले जानकारी दिनुभयो । 

उल्लेखित उद्योग तथा पसल/व्यवसायमा उद्योगी संख्या ७२७ जना रहेका छन् । जसमा ३९० जना महिला तथा ३३७ जना पुरुष रहेका छन् । यस्तै ती उद्योग तथा पसल/व्यवसायमा २ हजार ७८८ जनाले रोजगारी पाएका छन् । जसमा महिलाको संख्या १ हजार ५४१ र पुरुषको संख्या १ हजार २४७ रहेको कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । नयाँ दर्ता र नवीकरण भएका सबै उद्योग र व्यवसायको कूल पूँजी १६ अर्ब १० करोड ७२ लाख ६० हजार रहेको छ । जसमा चालु पूँजी ५ अर्ब ६९ करोड ६५ लाख ८० हजार र स्थिर पूँजी १० अर्ब ४१ करोड ६ लाख ८० हजार रहेको छ । यी उद्योगबाट वार्षिक कूल उत्पादन क्षमता ९ अर्ब ६९ करोड ५८ लाख रहेको पनि कार्यालयले जनाएको छ ।