काठमाडौं। नेपाल आयल निगमले देशभर, विशेषगरी काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको पर्याप्त मौज्दात रहेको र आपूर्ति नियमित भइरहेको दाबी गरिरहे पनि बजारमा भने उपभोक्ताले ग्यास सहज रूपमा नपाउँदा सास्ती खेपिरहेका छन्।टेकुस्थित नेसनल ट्रेडिङ लिमिटेडको शाखा कार्यालयमा मंगलबार बिहानैदेखि खाली सिलिन्डर बोकेर आएका सयौं उपभोक्ताको लामो लाइन देखिएको थियो। सुगम, नेपाल, एभरेस्ट, राजधानी, त्रिवेणीलगायत विभिन्न कम्पनीका सिलिन्डर लिएर पुगेका उपभोक्ताले घाम, वर्षा र हिलोको पर्वाह नगरी घण्टौं पालो कुर्नुपरेको गुनासो गरेका छन्। लामो प्रतीक्षाका कारण कतिपय उपभोक्ता सिलिन्डरमै बसेर थकान मेटाइरहेका थिए भने केहीले मोटरसाइकलमै सिलिन्डर राखेर पालो पर्खिरहेका देखिन्थे।नेपाल आयल निगमका अनुसार उद्योगीहरूलाई नियमित रूपमा ग्यास उपलब्ध गराइएको छ र भारतबाट ग्यास बोकेका बुलेटहरू पनि निर्बाध रूपमा नेपाल भित्रिरहेका छन्। निगमले आवश्यकताभन्दा बढी ग्यास सञ्चय गर्ने उपभोक्ताको प्रवृत्ति तथा केही स्थानीय डिलरले सिर्जना गरेको कृत्रिम अभावका कारण समस्या देखिएको दाबी गरेको छ।तर खुद्रा पसलहरूमा ग्यास नपाएर टेकु पुग्न बाध्य भएका उपभोक्ताले निगमको दाबी र बजारको अवस्थाबीच ठूलो अन्तर रहेको बताएका छन्। “यदि ग्यास पर्याप्त छ भने बजारमा किन पाइँदैन?” भन्ने प्रश्न उपभोक्ताहरूले उठाएका छन्।उपभोक्ताले ग्यास वितरण प्रणाली प्रभावकारी नभएको, बजार अनुगमन कमजोर रहेको तथा नेपाल आयल निगम र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जिम्मेवारीपूर्वक काम गर्न नसकेको आरोपसमेत लगाएका छन्।हाल नेसनल ट्रेडिङको टेकु शाखाबाट बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म मात्र ग्यास वितरण गरिँदै आएको छ। सीमित वितरण समयका कारण एकैपटक ठूलो संख्यामा उपभोक्ता पुग्दा भीड र लामो लाइन सिर्जना भएको उपभोक्ताको भनाइ छ।उनीहरूले बिक्री समय विस्तार गर्न, टोकन प्रणाली वा अनलाइन दर्ताको व्यवस्था लागू गर्न तथा ज्येष्ठ नागरिक, महिला र अपाङ्गता भएका व्यक्तिका लागि विशेष सुविधा उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन्।उपभोक्ता अधिकारकर्मीहरूले पनि काठमाडौं उपत्यकाका डिलरहरूमा ग्यासको वास्तविक उपलब्धता, सम्भावित कालोबजारी तथा कृत्रिम अभावबारे प्रभावकारी अनुगमन गर्न नेपाल आयल निगम र वाणिज्य विभागलाई आग्रह गरेका छन्।उनीहरूको भनाइमा केवल “ग्यास पर्याप्त छ” भन्ने विज्ञप्ति जारी गर्नु पर्याप्त होइन। उपभोक्ताले आफ्नै नजिकको डिलरबाट सहज र नियमित रूपमा ग्यास प्राप्त गर्ने वातावरण सुनिश्चित गर्नु नै सम्बन्धित निकायको मुख्य दायित्व हो।
फेसबुकबाट तपाईको प्रतिक्रिया