अन्तर्राष्ट्रिय बजारमा नेपालको १ हजार ५० मेगावाट विद्युत, भारतले थप २ सय मेगावाट किन्ने

290 Shares

काठमाडौं । भारतले नेपालबाट थप २ सय मेगावाट विद्युत् किन्ने सहमति गरेसँगै नेपालबाट भारतमा १ हजार १० मेगावाट विद्युत् निर्यात हुने भएको छ । बंगलादेशमा ४० मेगावाट निर्यात भइरहेको छ। अब कुल निर्यात १ हजार ५० मेगावाट पुगेको छ।

भारत सरकारले मंगलबार नेपालका विभिन्न पाँच जलविद्युत् आयोजनाबाट उत्पादन भएको थप २ सय मेगावाट विद्युत् खरिदका लागि सहमति प्रदान गरेको हो । यसअघि अनुमतिप्राप्त ८ सय १० दशमलव ९ मेगावाट र थपिएको २ सय मेगावाट गरी भारततर्फ कुल निर्यात क्षमता १ हजार १० दशमलव ९ मेगावाट पुगेको छ ।

भारत सरकारको स्वीकृतिसँगै नेपालले आगामी २५ असोजसम्म सो परिमाणको विद्युत् निर्यात गर्नेछ । यसअन्तर्गत लिखु–२, लिखु खोला ‘ए’, लोअर सोलु, ठूलो खोला, सुपर काबेली खोला ‘ए’ र सुपर काबेली खोलाबाट उत्पादन भएको विद्युत् पर्छ । आर्थिक वर्ष २०८१–८२ मा कुल १७ अर्ब ४७ करोड रुपैयाँबराबरको विद्युत् निर्यात भएकामा भारत सरकारबाट प्राप्त भएको थप निर्यात अनुमति र आगामी दिनमा थप प्राप्त हुने स्वीकृतिले यस आवमा निर्यात दोब्बर हुने अनुमान गरिएको छ । गत आव २०८१–०८२ मा नेपालले भारत र बंगलादेशमा गरी साढे १७ अर्ब रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गर्न सफल भएको हो ।

नेपालले वैदेशिक बजारमा विद्युत् निर्यात बढाउने रणनीतिमा उल्लेखनीय सफलता हासिल गरेको छ । नेपाल विद्युत् प्राधिकरणले आव २०८१–०८२ को अवधिमा भारतमा करिब १७ अर्ब १९ करोड रुपैयाँ र बंगलादेशमा २६ करोड ६७ लाख रुपैयाँ बराबरको विद्युत् बिक्री गरेको जनाएको छ । विद्युत् व्यापारमा नेपाललाई प्राप्त भएको यस उपलब्धिले ऊर्जा कूटनीति र आर्थिक समृद्धितर्फको यात्रामा महत्वपूर्ण कोसेढुंगा साबित भएको ऊर्जामन्त्री दीपक खड्काले बताए ।

गत वर्ष भारतबाट करिब १२ अर्ब ९२ करोड रुपैयाँ बराबरको विद्युत् आयात गरिएको भए पनि आयातको परिमाण क्रमशः घट्दै गएको छ । भारतबाट आयात हुनेभन्दा निर्यात हुने परिमाण बढेसँगै नेपाललाई विद्युत् निर्यातमा नाफा हुँदै आएको छ।

नेपालले बंगलादेशलाई प्रतियुनिट ६ दशमलव ४० अमेरिकी सेन्टमा विद्युत् बिक्री गर्दै आएको छ । भारततर्फ भने नेपाल विद्युत् प्राधिकरणले गत वर्षको साउनदेखि मंसिरसम्ममा प्रतियुनिट ७ रुपैयाँ ३९ पैसामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् निर्यात गरेको थियो । पाँच महिनामा मुलुकभित्र खपत भइ बढी भएको वर्षायामको १ अर्ब ७६ करोड युनिट विद्युत् भारततर्फ निर्यात गरेको थियो ।

नेपालले भारतका विभिन्न राज्यमा दैनिक ७ सय मेगावाटभन्दा बढी विद्युत् निर्यात गरिरहेको छ । ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइन तथा भारत–बंगलादेश सीमामा रहेको बेहरामपुर–भेडामारा लाइनमार्फत नेपाली विद्युत् बंगलादेशसम्म पुग्न थालेको छ ।

गत वर्ष नेपालले भारतबाट १२ अर्ब ९२ करोड ३१ लाख रुपैयाँको विद्युत् आयात गरेको थियो । भारतले लिखु–२, लिखु खोला ‘ए’, लोअर सोलु, ठूलो खोला, सुपर काबेली खोला ‘ए’ र सुपर काबेली खोलाबाट उत्पादन भएको विद्युत् लैजाने भएसँगै कुल २१ वटा आयोजनाको विद्युत् भारत निर्यात हुने भएको छ । भारतले १ सय ४० मेगावाट विद्युत् कालिगण्डकी ‘ए’बाट लिने गरेको छ । यसैगरी, ८३ दशमलव ४२ मेगावाट क्षमताको सोलु खोला (दूधकोशी)बाट विद्युत् किनिरहेको छ ।राजधानीबाट