काठमाडौँ । प्रतिनिधि सभाको अर्थ समितिले वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयकमाथि छलफल शुरु गरेको छ।
शुक्रबार सिंहदरबारमा बसेको बैठकले विधेयकका सम्बन्धमा विज्ञ र संशोधनकर्ता सांसदहरुसँग छलफल गरेको हो । बैठकमा बोल्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले विधेयकलाई छिटो टुंग्याउन समितिलाई आग्रह गर्नुभयो । उहाँले विधेयकमा रहेका भाषागत त्रुटीहरुलाई सभामा पनि सच्याउन सकिने उल्लेख गर्दै विधेयकलाई निष्कर्षमा पुर्याउन आग्रह गर्नुभयो । मन्त्री पौडेलले बसाईंसराईको भयावह अवस्था रोक्नको लागि हिमाली तथा पहाडी विकट क्षेत्रमा ठूलो आयोजनाको लगानी गर्नुपर्ने आवश्यकता पनि औँल्याउनु भयो ।
वैकल्पिक विकास वित्तसम्बन्धी कानुन बनेपछि विकासका नवीन स्रोतहरूको परिचालन गर्न तथा यसको माध्यमबाट रोजगारी प्रवर्धन, दिगो आर्थिक विकास र दीर्घकालीन लगानी सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । ऋणपत्र, स्वपुँजी कोष र अन्य वित्तीय उपकरणमार्फत वैकल्पिक विकास वित्त परिचालन गर्नको लागि आवश्यक भएकोले सरकारले यो विधेयक अगाडि बढाइएको हो।
फेसबुकबाट तपाईको प्रतिक्रिया