भक्तपुर । श्रीवन धाममा अवस्थित संसारकै एक मात्र श्रीपञ्चमहालक्ष्मी मन्दिरको अक्षयकोष स्थापनार्थ संस्कृत साहित्यकाे आदिकाव्यको रूपमा रहेको श्रीमद्वाल्मीकीय रामायणमा आधारित चातुर्मास्य ज्ञानमहायज्ञ संचालनको तयारी अन्तिम चरणमा पुगेको छ ।
चार महिनासम्म सञ्चालन हुने यस ज्ञान महायज्ञ आगामी असार २२ गतेदेखि कार्तिक १९ गतेसम्म भक्तपुर जिल्लाकाे चाँगुनारायण नगरपालिकास्थित छालिङमा हुन लागेको आयोजकले जानकारी दिएका छन् ।
सङ्कल्पकर्ता परम श्रद्धेय अनन्त श्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज ९ श्रीमुक्तिनाथ बाबा ज्यू हुनु हुन्छ भने श्रद्धेय आचार्य श्रीसुदर्शन बडालज्यूको प्रमुख वाचकत्वमा कथा प्रवचन हुनेछ ।

असार महिनाको हरिशयनी एकादशीमा प्रारम्भ भई कार्तिक महिनाको हरिबोधिनी एकादशीपछिको पूर्णिमासम्म सञ्चालन हुने उक्त चतुर्मास ज्ञानमहायज्ञमा हजारौं श्रद्धालुहरुले पुजा आरतीसहित कथा श्रवण गर्ने महायज्ञ मूल आयोजक समितिका संयोजक उत्तराधिकारी स्वामी श्रद्धेय श्रीवासुदेव प्रपन्नाचार्यले जानकारी दिनुभयो ।
श्रीमद्वामीकीय रामायणमा भगवान् श्रीरामले देखाउनुभएका चरित्रहरू हरेक मानवका लागि अनुकरणीय भएकाले नेपाली समाज वर्तमान अवस्थामा देखिएको अनुशासन र मर्यादालाई कायम गराउन र भइरहेको अराजक, बेथितीलाई अन्त्य गरि मुलुकमा सुख, शान्ति, समृद्धिका लागि मार्ग दर्शन हुने महायज्ञका प्रमुख वाचक आचार्य श्रीसुदर्शन बडालको बिश्वास छ ।
यस्ता शास्त्रहरूमा आधारित प्रवचनहरूले समाजमा सकारात्मक प्रभाव पार्ने हुँदा पवित्र ज्ञानमहायज्ञमा सबै सनातन धर्मावलम्बीहरूलाई सहभागी भई पुण्य आर्जन गर्नुहुन आयोजक समितिले आह्वान गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया