इरानमाथि अमेरिकी आक्रमणले ‘पूर्ण विनाश’ नगरेको अमेरिकी गुप्तचरको मूल्याङ्कन

370 Shares

वासिङ्टन डिसी । गत सप्ताहान्त अमेरिकी सेनाले इरानका तीनवटा परमाणुस्थलहरूमा गरेको आक्रमणले देशको परमाणु कार्यक्रमका मुख्य संरचना नष्ट नगरेको अमेरिकी गुप्तचरको प्रारम्भिक मूल्याङ्कनले देखाएको छ। यो मूल्याङ्कनले इरानको कार्यक्रमलाई केही महिनासम्ममात्र पछि धकेलेको निष्कर्ष निकालेको छ।

यो मूल्याङ्कन अमेरिकी रक्षा मन्त्रालयअन्तर्गतको गुप्तचर संस्था डिफेन्स इन्टेलिजेन्स एजेन्सी (डीआईए) ले तयार पारेको हो। अमेरिकी सेनाको केन्द्रीय कमाण्डले आक्रमणपछिको क्षतिको प्रारम्भिक मूल्याङ्कन गरेपछि यो निष्कर्ष निकालिएको हो।

यद्यपि मूल्याङ्कन अझै जारी छ र थप सूचनाका आधारमा परिणामहरू परिवर्तन हुन सक्छन्। तर प्रारम्भिक निष्कर्ष राष्ट्रपति डोनाल्ड ट्रम्पका ती बारम्बार दाबीहरूसँग मेल खाँदैनन्, जसमा उनले आक्रमणले इरानको परमाणु सम्वर्द्धन पूर्वाधारलाई ‘पूर्ण रूपमा ध्वस्त’ पारेको भनेका थिए ।

संयुक्त राज्यका रक्षामन्त्री पिट हेगसेथले आइतवार एक बयानमा भनेका थिए, ‘इरानको परमाणु महत्त्वाकाङ्क्षा पूर्णरूपमा समाप्त गरिएको छ।’ तर मूल्याङ्कन त्यसको उल्टो सङ्केत गर्छ। मूल्याङ्कनमा जानकारी भएका दुई स्रोतका अनुसार इरानको संवर्धित युरेनियमको भण्डार नष्ट भएको छैन। एक स्रोतका अनुसार, ‘सेन्ट्रीफ्युजहरू प्रायः जस्ताको तस्तै छन्।’ अर्का एक स्रोतले जानकारी दिएअनुसार आक्रमण हुनु पूर्व संवर्धित युरेनियम अन्यत्र सारिएको थियो।

‘डिफेन्स इन्टेलिजेन्स एजेन्सीको मूल्याङ्कन अनुसार अमेरिका इरानलाई बढीमा केही महिना मात्र पछाडि धकेल्न सफल भयो,’ ती स्रोतले भने।एजेन्सी