अहिलेसम्म युद्धविराम वा सैन्य अपरेसन बन्द नभएकाे  इरानकाे दाबी

349 Shares

जेरुसेलम । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकाे घोषणापछि इरानका विदेशमन्त्री अब्बास अराघचीले ‘अहिलेसम्म युद्धविराम वा सैन्य अपरेसन बन्दको कुनै सम्झौता नभएको’ बताएका छन् । यद्यपि, उनले ‘यदि इजरायलले आफ्नो अवैध आक्रमण रोक्यो भने तेहरानको त्यसपछि आफ्नो प्रतिक्रिया जारी राख्ने कुनै आशय नभएको’ पनि प्रस्ट पारेका छन् ।

गत १३ जुनमा इजरायलले आणविक र सैन्य स्थललक्षित इरानविरुद्ध आश्चर्यजनक ‘पूर्वनियोजित’ आक्रमण गरेपछि सुरु भएको द्वन्द्व अन्त्यका लागि इजरायलबाट तत्काल कुनै पुष्टि आएको छैन । अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा घोषणा गरिएको युद्धविरामको अन्तिम क्षण मिसाइलमार्फत इरान र इजरायलले मंगलबार एकअर्काविरुद्ध आक्रमण गरेका छन् । मध्यपूर्वी शत्रुबीचको १२ दिने युद्ध ‘आधिकारिक अन्त्य’ हुने अपेक्षा गरिएका बेला पछिल्ला केही घटनाक्रमले केही आशंका जन्माएका छन् ।

ट्रम्पले सामाजिक सञ्जालमा अप्रत्याशितरूपमा राति पोस्टमा उल्लेख गरेअनुसार ‘युद्धविराम सम्झौताले कट्टर शत्रुलाई चरणबद्धरूपमा गोलाबारी बन्द’ गर्नेछ । ‘इरानले ‘०४०० जीएमटी’देखि सुरु हुने सबै अपरेसन एकतर्फीरूपमा रोक्नेछ, र इजरायलले १२ घण्टापछि यसको पालना गर्ने’ ट्रम्पले जनाएका छन् ।

‘इजरायल र इरानबीच पूर्ण र सम्पूर्ण युद्धविराम हुने कुरामा पूर्णसहमति भएको छ,’ ट्रम्पले आफ्नो ट्रथ सोसल प्लेटफर्ममा लेखेका छन्, ‘आधिकारिक अन्त्य इजरायल र इरानले आफ्ना चलिरहेका अन्तिम मिसन समाप्त र पूरा गरेपछि आउनेछ ।’

नयाँ हमलाहरू
इरानको राज्य मिडियाले मङ्गलबार युद्धविराम हुने अपेक्षा गरिएको बेला इजरायलतर्फ मिसाइलको पाँचौँ लहर अघि बढेको बताएको छ । इजरायली सेनाले इरानबाट आएको मिसाइलको पछिल्लो राउन्डलाई रोक्ने काम गरिरहेको बताएपछि उत्तरी इजरायलमा हवाई आक्रमणको साइरन बजेको थियो ।

दक्षिणी बिरसेबामा इरानी क्षेप्यास्त्र आक्रमणमा चार जनाको मृत्यु भएको र दुई जना सामान्य घाइते भएको इजरायली आपत्कालीन सेवाले जनाएको छ । इजरायलमा इरानको आक्रमणबाट भएको क्षतिको पूर्ण सीमा सैन्य सेन्सरसिप नियमका कारण थाहा छैन । तर आधिकारिक तथ्याङ्कअनुसार देशभर कम्तीमा ५० प्रहार स्वीकार गरिएको छ र २४ जनाको मृत्यु भएको छ । इरानमा इजरायली हमलामा चार सयभन्दा बढीको मृत्यु भएको इरानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । एजेन्सी