नेपालमै व्यवसाय गर्ने वातावरण सिर्जना गर्न सांसदहरुको जोड

279 Shares

काठमाडाैँ । नेकपा एमाले सांसद भगवती चौधरीले नेपालमै व्यवसाय गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभएको छ । 

सोमवारको अर्थ समितिको बैकठमा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । समितिमा सोमवार आर्थिक विधेयक मार्फत सुन, चाँदी र गरगहनामा लगाइएको करका सम्बन्धमा नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको निवेदन र बैङ्क तथा बित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा आन्तरिक छलफल भएको हो । जसबारे बोल्दै उहाँले व्यवसायी लगानीकर्तामाथि धेरै कडाइ गर्न नहुने बताउनु भयो । अवैधानिक रुपमा व्यापार व्यवसाय गर्नेहरुमाथि मात्रै निगरानी बढाएर करको दायरामा ल्याउन जरुरी रहेको बताउनु भयो । उहाँले डायमण्डमा लगाइएको विलाशिता कर हटाउनुपर्ने बताउनु भयो ।

समितिको बैठकमा बोल्दै नेकपा एमाले सांसद जुलीकुमारी महतोले नेपालमा महंगी बढ्नु र कर बढी लगाउँदा नेपालको बजार सुकिरहेको बताउनु भयो । उहाँले सिंहदरबारबाट हेरेर सबैकुरा नदेखिने भन्दै सम्बन्धित स्थानमा नै गएर निरीक्षण गर्न जरुरी रहेको बताउनु भयो  निजी क्षेत्र, उद्योगी व्यवसायीहरुले उपभोक्तालाई मारमा नपार्ने गरी कानून निर्माण गर्न जरुरी रहेको बताउनु भयो ।

सांसद महतोले कच्चा पदार्थमा ६ प्रतिशत कर हुनुपर्नेमा १० प्रतिशत र बनेको सामग्रीमा १० प्रतिशत हुनुपर्नेमा ६ प्रतिशत कर रहेको भन्दै यो उल्टो प्रक्रिया भएको जिकिर गर्नुभयो । यसले युवाहरुलाई विदेश जाउ, देशमा नबस भनेको स्पष्ट हुने बताउनु भयो ।