बीपी राजमार्गमा रातिको समयमा मालबाहक बाहेकका सवारी चलाउन रोक

458 Shares

काभ्रे। बीपी राजमार्गमा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै (खुर्कोटदेखि काभ्रेभञ्ज्याङ सडकखण्ड ) मा आगामी १५ दिन रातिको समयमा मालबाहक बाहेकका सवारी साधन चलाउन रोक लगाइने भएकाे छ ।  

शुक्रबार बसेको काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयाे । 

उहाँका अनुसार साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म मालवाहक गाडीबाहेक अन्य सवारी साधन चल्न रोक लगाउने निर्णय भएको हो । 

प्रमुख जिल्ला अधिकारी ढकालले सम्भवत: आइतबारदेखि लागू हुनेगरी त्यस्तो सूचना प्रकाशित हुने बताउनुभयाे । समितिले काठमाडौंबाट जाने सवारी काभ्रे भञ्ज्याङमा राेक्ने र काठमाडौंतर्फ जानेलाई सिन्धुलीको खुर्कोटमा रोक्ने निर्णय गरिएको हो । गत असोजमा गएको बाढीपहिरोले उक्त राजमार्गमा क्षति भएको थियो ।

तस्बीरः देवराज केसी