जिल्ला समन्वय समितिको समीक्षाः काभ्रेका १३ पालिकामध्ये कुन स्थानीय तहको प्रगति कस्तो ?

404 Shares
  • ज्ञानमणि नेपाल कालोटोपी

धुलिखेल । जिल्ला समन्वय समिति काभ्रेले जिल्लामा रहेका ६ नगरपालिका र ७ गाउँपालिकाले एक वर्षमा गरेका कामहरुको समीक्षा सार्वजनिक गरेको छ । मंगलबार धुलिखेलमा आयोजना गरेको आठौं जिल्ला सभा तथा चालु आर्थिक वर्षको प्रगति समीक्षा कार्यक्रममा पालिकाहरुको कार्यप्रगति सार्वजनिक गरिएको हो । 

JI SA SA  (6).jpg

जिल्ला समन्यव समिति प्रमुख दीपककुमार गौतमले समीक्षा सार्वजनिक गर्दै आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमहरु पनि प्रस्तुत गर्नुभयो । काभ्रे क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका सांसद गोकुल बाँस्कोटा प्रमुख अतिथि रहनुभएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, प्रदेश सांसदहरु, १३ वटै पालिकाका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाअध्यक्षलगायत विभिन्न क्षेत्रका सरोकारवालाहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा विभिन्न क्षेत्रमा उल्लेख्य प्रगति गर्ने पालिकाहरुलाई सम्मान पनि गरिएको थियो । 

यस्तो छ कार्यप्रगति विवरण
जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले स्थानीय तह र सरकारी कार्यालयहरुबाट हुने सार्वजनिक सेवा प्रवाह, विकास निर्माणका कार्यहरुमा गुणस्तरियता, प्रभावकरिता तथा सुशासन अभिवृद्धिसम्बन्धी कार्यालय प्रमुखहरुसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । जिल्लामा रहेका सबै स्थानीय तहका न्यायिक समितिहरुलाई अभिमुखीकरण गरिएको छ भने जिल्लाको विभिन्न स्थानीय तह र जिल्ला समन्वय समितिको लागत साझेदारीमा सञ्चालित योजनाहरुको अनुगमन गरी रकम निकासा पनि गरिएको छ ।

JI SA SA  (1).jpg

२०८१ असोज १०, ११ र १२ गतेको अविरल वर्षाका कारण सिर्जित बाढी, पहिरो र डुबान लगायतका विपद्जन्य घटनाहरुमा जिल्ला समन्वय समितिद्वारा राहत, खोज र उद्धारमा समन्वय गरिएको छ । एफआरएको मूल्याकंन गरी अन्तिम नतिजा प्रकाशित गरिएको छ । ढुङ्गा, गिट्टी उत्खनन्, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ को दफा ९ (१) मा व्यवस्था भएको नदीजन्य पदार्थ उत्खनन्, संकलन र बिक्रीसम्बन्धी प्रक्रियाको अनुगमन गर्न गठित कार्यदलले पनौती नगरपालिका, बेथानचोक गाउँपालिका, नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकामा संचालित क्रसर उद्योगहरुको स्थलगत अनुगमन सम्पन्न गरेको छ । २०८१ चैत १४ देखि १८ गतेसम्म जिल्ला समन्वय समितिको अगुवाईमा काठमाडौं विश्वविद्यालय परिसरमा युवा महोत्सव सम्पन्न गरिएको छ । 

kavre map (1).jpg

“ज्येष्ठ नागरिक, महिला, बालबालिका, अपाङ्ग, दलित लगायतका सिमान्तकृत तथा अल्पसंख्यक व्यक्तिहरुको हकहित तथा सामाजिक सुरक्षासम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । यस कार्यालयले संघतर्फ ७७.४७ प्रतिशत र प्रदेश ६०.५० प्रतिशत वित्तीय प्रगति गरेको छ । 

१.बनेपा नगरपालिका
बनेपा नगरपालिकाले चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म ६०.१५ प्रतिशत वित्तीय प्रगति गरेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रकाशन गरेको स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा ७८ अंक प्राप्त गरी देशभर चौथो नम्बरमा पर्न सफल भएको छ । नयाँ ३१७ वटा ब्यवसायी दर्ता भएसँगै नगरपालिकाभित्र दर्ता हुने ब्यवसायको संख्या २ हजार १२२ पुगेको छ । नगरपालिकाको १४ वटै वडामा वडास्तरीय विपद ब्यवस्थापन समिति गठन भएको छ । १ हजार ५०१ वटा ब्यक्तिगत घटना दर्ता भएका छन् । निःशुल्क पशुबीमा कार्यक्रम ८० प्रतिशत सम्पन्न गरिएको छ । 

नेपाल सरकारले प्रतिदिन, प्रतिब्यक्ति १५ रुपैयाँका दरले उपलब्ध गराउने दिवा खाजामा नगरपालिकाको तर्फबाट ५ रुपैयाँ थप गरिएको छ । सडक बालबालिका मुक्त नगरपालिका घोषणा भएको छ । बनेपा नगरबासीका लागि निःशुल्क रगत उपलब्ध गराउन रेडक्रस सोसाइटी काभ्रेसँग सम्झौता भएको छ । हालसम्म ऐन २४ वटा, कार्यविधि र निर्देशिका ४८ वटा गरी ७२ वटा कानून कार्यान्वयनको चरणमा छन् । 

२. धुलिखेल नगरपालिका
धुलिखेल नगरपालिका नेपालकै पहिलो र एसियाको दोस्रो हेल्दी सिटी घोषणा भएको छ ।  सबै विद्यालयहरुलाई डिजिटल स्कुलको रुपमा विकास गर्ने अभियान सञ्चालन गरिएको छ । यस नगरपालिकाले ६० वटा ऐन, ७ वटा नियमावली र ५२ वटा कार्यविधि, मापदण्ड तथा निर्देशिकाहरु निर्माण गरेको छ । यस नगरपालिकाले ५७.७६ प्रतिशत वित्तीय प्रगति गरेको छ । एकीकृत नगर सेवा प्रणाली सञ्चालन गरि घरबाटै सेवा लिने ब्यवस्थाको सुरुवात गरिएको छ । नगरपालिकाले कार्बन फ्रि सिटी, पर्यटकीय शहर घोषणा, छुवाछुत मुक्त, अपांगतामैत्री नगर निर्माण तथा एसडिजीका थप लक्ष्यहरु प्राप्ति गर्ने भावी योजना बनाएको छ । सशर्त अनुदान क्रियाकलापमा आधारित नभई क्षेत्रगत लक्ष्यसहितको हुनुपर्ने, आन्तरिक आम्दानी कम भएका स्थानीय तहहरुलाई थप विशेष वित्तीय स्रोतहरु उपलब्ध गराउनु पर्ने लगायतका विषयमा नगरपालिकाले संघीय सरकारसँग अपेक्षा गरेको छ । 

JI SA SA  (9).jpg

३. पनौती नगरपालिका
पनौती नगरपालिकाले भैंसी सुत्केरी भत्ता वितरणलाई निरन्तरता दिएको छ भने सबै वडामा पूर्ण अनुदानमा पशुबीमा भएको छ । नगरपालिकाले ५१.०८ प्रतिशत वित्तीय प्रगति गरेको छ । न्यायिक समितिमा परेका १० वटै निवेदन फर्छ्याैट भएको छ । पनौतीको संरक्षित क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकरण गर्न आवश्यक प्रक्रिया निरन्तर चलिरहेको छ । विपद संकट अवस्थामा पनि २.७ किलोमिटर पक्की सडक निर्माण गर्न नगरपालिका सफल भएको छ । यस नगरपालिकामा पूर्वाधार निर्माण कार्यमा उपभोक्ताहरुको सहभागिता प्रभावकारी देखिएको छ ।

४. नमोबुद्ध नगरपालिका
यस पालिकाले कुल बजेटको ४८.६० प्रतिशत वित्तीय प्रगति गरेको छ । विश्व प्रसिद्ध धार्मिक तथा ऐतिहासिक नमोबुद्ध परिसरमा पर्यटन सूचना केन्द्र निर्माण गरेको छ । एक सय असी मेट्रिक टन क्षमताको कोल्डस्टोर निर्माण कार्यलाई निरन्तरता दिएको छ । नगरपालिकाको एउटा वडा बालमैत्री स्थानीय तह र एउटा वडा बालश्रममुक्त स्थानीय तह घोषणा भएको छ । १ हजार ६३३ वटा पशुहरुको बीमा गरिएको छ । नगरपालिकाले मोतियाबिन्दुको निःशुल्क शल्यकिया, सुत्केरी, अशक्त र बृद्धबद्धाको स्वास्थ्य परीक्षण तथा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आएको छ । गत असोज १० गतेदेखि १२ सम्म परेको अबिरल बर्षापछि आएको बाढीमा क्षतिग्रस्त भएका घरधुरीहरुको विस्कृत क्षति आँकलको काम भइरहेको छ । अस्थायी आवास निर्माणका लागि विपद् पोर्टलमा तथ्यांक प्रविष्टि भएका लाभग्राहीलाई पहिलो किस्ता बापतको अनुदान रकम उपलब्ध गराइएको छ । 

५. पाँचखाल नगरपालिका
पाँचखाल नगरपालिकाले हालसम्म ५०.१० प्रतिशत वित्तीय प्रगति गरेको छ । नगरपालिकाको हालसम्म १२ करोड, ४२ लाख ८ हजार रुपैयाँ बेरुजु रकम छ । नगरपालिकामा १ हजार ५३१ वटा ब्यक्तिगत घटना दर्ता भएका छन् । नगरपालिकामा मदिरा निषेधित, बाल बिवाह, बहुविवाहरहित वडा पालिका, छुवाछुत मुक्त, पूर्ण खोपयुक्त, प्लास्टिक मुक्त, वातावरणमैत्री, मानव बेचविखन मुक्त, बेसाहारा सहयोगापेक्षी सडक मानवमुक्त र बालमैत्री वडा पालिका लगायत  महत्वपूर्ण कार्यक्रम सञ्चालनमा छन् । नगरपालिकाको सहयोगमा आम्दानीसँग जोड्ने उद्देश्यले ५१ वटा सामुदायिक वन क्षेत्रमा फलफूल तथा जडीबुटी लगाइएको छ ।

JI SA SA  (5).jpg

नगरपालिकाले तहगत कानूती अन्यौलता, घाटा बजेट, आन्तरिक कार्यको दायरा साँघुरो, अनावश्यक सूचना माग गर्ने प्रबृत्ति र योजना ब्यवस्थापनलाई मुख्य समस्याको रुपमा निक्र्यौल गरेको छ । शहरोन्मुख नगरहरुको एकीकृत विकासमा समन्वयात्मक भूमिका, राष्ट्रिय राजमार्ग र सवारी ब्यवस्थापनमा संघीय सरकारसँग अपेक्षा गरेको छ । 

६.मण्डनदेउपुर नगरपालिका
मण्डनदेउपुर नगरपालिकाले यसै आर्थिक वर्षमा जापानको फुजिनोमिया नगरपालिकासँग भगिनीसम्बन्ध कायम गरेको छ । हालसम्म ४०.७३ प्रतिशत वित्तीय प्रगति गरेको नगरपालिकाले बेरुजु फछ्र्यौटमा उल्लेख्य प्रगति हासिल गरेको छ । ०.०९ प्रतिशत बेरुजु कायम गरेर नगरपालिका जिल्लाकै पहिलो र १३ वटा स्थानीय तहहरुमा दोस्रो हुन सफल भएको छ । 

नगरपालिकाले असोजको विपदमा ज्यान गुमाएकाको परिवारलाई प्रतिमृतक ब्यक्ति ५० हजारका दरले सहायता प्रदान गरेको छ । सबै विद्यालयमा नाक, कान, घाँटी, आँखा र अपांगता जाँच स्क्रिनिङ गरि समस्या भएका बालबालिकाको विशेषज्ञद्वारा निःशुल्क उपचार गरिएको छ । नगरपालिकाका विभिन्न वडामा किसान सूचीकृत कार्य थालनी गरिएको छ । एकीकृत फाइल ब्यवस्थापन सर्भर जडान गरी एकीकृत कार्यालय ब्यवस्थापन प्रणालीको सुरुवात गरिएको छ । १ हजार २७८ वटा ब्यक्तिगत घटना दर्ता भएको छ । अपांगता भएका ब्यक्तिलाई बाटेको धुप बनाउने र फूल खेतीसम्बन्धी तालिम दिइएको छ । 

७. महाभारत गाउँपालिका 
महाभारत गाउँपालिका देशभरका स्थानीय तहमा शुन्य बेरुजु कायम गर्ने एक मात्रै पालिका बन्न सफल भएको छ । हालसम्म ४१.७३ प्रतिशत वित्तीय प्रगति भएको छ । गाउँपालिकाबाटै कन्सुलर सेवा प्रदान गर्न सुरु गरिएको छ । अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएका पालिका घोषणा भएको छ । ‘जसले रोप्छ कफीको बोट, उसलाई दिइन्छ २० को नोट’ अभियान अन्तर्गत कफी खेतीको प्रवर्द्धन र विस्तार गरिएको छ । १ हजार ८३ वटा ब्यक्तिगत घटना दर्ता भएका छन् । यो पालिका स्वास्थ्य कार्यक्रमहरुको एकीकृत बार्षिक समीक्षा कार्यक्रममा जिल्ला प्रथम हुन सफल भएको छ । महाभारत बन्दै छ, बा आमालाई सन्चै छ ? कार्यक्रममा १ हजार ९ सय ७ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । गाउँपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा रहेको छ । आठवटै वडा कार्यालयको भवन निर्माण सम्पन्न भइसकेको छ । असोज १० पछिको विपदमा परेका १७ घरधुरीलाई अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता रकम वितरण गरिएको छ भने दोस्रो किस्ताको विवरण प्रविष्ट सुरु गरिएको छ । 

८.भुम्लु गाउँपालिका 
भुम्लु गाउँपालिका वन डढेलोमुक्त पालिका घोषणा भएको छ । पालिकाले रैथाने बाली कोदो र फापरको संरक्षणका लागि प्रतिपाथी २५ र ३० रुपैयाँ अनुदान दिने ब्यवस्थालाई निरन्तरता दिएको छ । भुम्लु र सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाबीचको सीमाना विवाद, पालिकाको वडा नम्बर ७ र ८ पुरै तथा २ नम्बर वडामा रहेको जग्गाधनी पूर्जा वितरणसम्बन्धी समस्या भने अझै समाधान हुन सकेको छैन । पालिकाले प्रशासनिक भवन निर्माणका लागि जग्गा प्राप्तिको कार्य छिटो सम्पन्न गराउन पहल गरिदिन संघीय सरकारसँग अपेक्षा राखेको छ । प्रसिद्ध धार्मिकस्थल मुलखर्क भीमसेनस्थानमा पाँच पाण्डवको मुर्ति स्थापना गरिएको छ । एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने पालिकाका छात्र र छात्रालाई १/१ लाख रुपैयाँसहित सम्मान गरिएको छ ।  

JI SA SA  (3).jpg

९. बेथानचोक गाउँपालिका
बेथानचोक गाउँपालिकाले ब्यवसायिक किसानलाई उद्यमशीलता ब्याजमा पाँच प्रतिशत अनुदान दिन सुरु गरेको छ । गाउँपालिकाले ३५० जना विद्यार्थीलाई निःशुल्क लोकसेवा तयारी कक्षा प्रदान गरेको छ । प्रत्येक वर्ष ५ किलोमिटर सडक कालोपत्रे तथा ढलान कार्यक्रम अन्तर्गत ३ दशमलव २ किलोमिटर ढलान गरिएको छ । असोजको विपदबाट विस्तारै तंग्रिदै गरेको पालिकाले ५३.५९ प्रतिशत वित्तीय प्रगति गरेको छ । 

१०. रोशी गाउँपालिका
रोशी गाउँपालिकाले हालसम्म ६३.६८ प्रतिशत वित्तीय प्रगति गरेको छ । ४४ जना किसानहरुलाई कृषि तथा पशुपालन क्षेत्रमा ब्याज अनुदान कार्यक्रम अन्तर्गत लगानी गरिएको छ । विपद प्रतिकार्यको लागि गाउँपालिकामा न्यूनतम सामग्रीहरु मौज्दात राखिएको छ । असोजको विपदपछि अवरुद्ध सडकको सरसफाई, सडक, सिंचाई कुलो, खानेपानी र विद्यालय भवन मर्मत गरिएको छ । न्यायिक समितिमा ९ वटा उजुरी दर्ता भएकोमा ५ वटा मेलमिलाप भइसकेको छ । 

११. खानीखोला गाउँपालिका
खानीखोला गाउँपालिकाले ‘कफीमा जसको उत्पादन, उसैलाई अनुदान’ भन्ने मुख्य उद्देश्यका साथ कफी खेती विस्तार गरिरहेको छ । ८ किलोमिटर सडक नयाँ ट्रयाक खुलाइएको छ । निःशुल्क सुत्केरी एम्बुलेन्स सेवा निरन्तरता छ । सडक सञ्जाल राम्रो नहुनु, पर्याप्त कर्मचारी नहुनु, कार्यालय भवन, प्रविधि तथा उपकरण अभाव यस गाउँपालिकाका मुख्य समस्या हुन् । यहाँ केन्द्रीय विद्युत प्रसारण लाइन जोड्न र आधारभूत स्वास्थ्य केन्द्रसमेत सञ्चालन हुन सकेको छैन । खानीखोलालाई विशेष क्षेत्र घोषणा गरी थप बजेटको ब्यवस्था गर्न संघीय र प्रदेश सरकारसँग गाउँपालिकाले अपेक्षा गरेको छ । 

JI SA SA  (7).jpg

१२.चौंरीदेउराली गाउँपालिका
चौंरीदेउराली गाउँपालिकाले ९२.२५ प्रतिशत वित्तीय प्रगति गरेको छ । पालिकाले ब्यवसायिक खेतीका लागि उत्पादनमा आधारित अनुदान तथा आधुनिक कृषि औजार वितरण गरेको छ । गरिबीको रेखामुनी रहेका समुदायका गृहिणी महिलाहरुलाई आयमुलक क्रियाकलाप गर्न प्रोत्साहन गरिएको छ । ६० वर्ष नाघेका बृद्धबृद्धालाई हरेक महिना स्वास्थ्य परीक्षण तथा उपचारको सेवा दिइएको छ। घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । दुःख दिने नियतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्धा हाल्ने, अनुभवी जनशक्तिको अभाव, कर्मचारी तथा जनप्रतिनिधिमा कानून अध्ययन नगर्ने प्रवृत्ति, केन्द्रका ऐन नियमहरु स्थानीय तहमैत्री नहुनुलाई पालिकाले प्रमुख समस्याका रुपमा लिएको छ । 

१३. तेमाल गाउँपालिका
तेमाल गाउँपालिकाले ८३ प्रतिशत वित्तीय प्रगति गरेको छ । वडा–वडामै सामाजिक सुरक्षा भत्ता वितरण, अशक्त, ज्येष्ठ नागरिकको सामाजिक भत्ता कार्ड नवीकरण टोल र बस्तीमै पुगेर गर्ने गरिएको छ । यस गाउँपालिकामा कर्मचारी अभाव र टिकाउन नसक्नु, योजना र कार्यक्रम सुस्त गतिमा कार्यान्वयन हुनु, दक्ष जनशक्तिको अभाव, कर्मचारीलाई प्रोत्साहन नहुनु, प्राकृतिक स्रोत साधनको समुचित उपयोग नहुनु मुख्य समस्या रहेका छन् । गाउँपालिकाले संघीय सरकारसँग समयमै बजेट निकासा, मानव संसाधनको ब्यवस्थापन, दीर्घकालिन महत्वका योजनामा सहयोग र संघबाट छनोट भई कार्यान्वयन हुने योजनाहरु स्थानीय सरकारको सिफारिस अनुसार हुने अपेक्षा राखेको छ । (जिल्ला समन्वय समितिको समीक्षा प्रतिवेदनअनुसार तयार)

तस्बीरहरुः ज्ञानमणि नेपाल कालाेटाेपी