असार १ः मेलम्ची र इन्द्रावती नदीमा अकल्पनीय बाढी आएको आज चार वर्ष पूरा (भिडियाेसहित)

507 Shares

काठमाडौं । २०७८ असार १ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा अकल्पनीय बाढी आएको आज चार वर्ष पूरा भएको छ। 

असार १ र त्यसपछिका पटक पटकका बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो। नदी तटीय क्षेत्रका सयौँ घर र खेतीयोग्य जमिन बगरमा परिणत भएको थियो भने हजारौँ नागरिक विस्थापित भएका थिए।

बाढीले क्षति पुर्‍याएको चार वर्ष बिते पनि धेरै प्रभावित अस्थायी टहरामै बसिरहेका छन्। उनीहरु सुरक्षित बसोबासको पर्खाइमा छन् । चार वर्षदेखि अस्थायी टहराको सकसपूर्ण जीवनले बाँच्नै गाह्रो भएको बाढी पीडितको भनाइ छ। बाढीका कारण विस्थापित हेलम्बु र  मेलम्चीका स्थानीयवासी सुरक्षित ठाउँमा घर कहिले बनाउन पाइएला भन्ने आशामा छन्।

नदी तटीय क्षेत्रका बासिन्दाको कथाव्यथा पनि उस्तै छ। नदी नियन्त्रणको काम गुणस्तरीय नभएको मेलम्चीका पीडितकाे गुनासो छ। बाढीका कारण हेलम्बु गाउँपालिकामा  तीन सय ९२ जना लाभग्राही कायम भएका छन् । त्यस्तै मेलम्ची नगरपालिकामा कायम भएका दुई सय ४४ लाभग्राहीमध्ये पनि धेरैले घर बनाउन सकेका छैनन् । यस्तै पाँचपोखरी थाङपाल गाउँपालिकामा समेत एक सय ८४ जना लाभग्राही छन्। सरकारले जग्गा नभएकालाई खरिद गर्न बढीमा तीन लाख र घर बनाउन पाँच लाख तथा  अस्थायी आवास बनाउन ५० हजार  दिने बताएको छ। धेरैजसाेले यहि रकम पनि पाउन सकेका छैनन् । 

विस्थापित स्थानीयको स्थायी आवास पुनःनिर्माण प्रक्रियामा स्थानीय तहले काम गरे पनि प्रदेश र सङ्घीय सरकारले त्यति चासो नदिएपछि पीडितलाई व्यवस्थापन गर्न नसकिएकाे सम्बन्धित पालिकाहरुले जनाएकाे छन् । नदी नियन्त्रण र व्यवस्थापनका लागि स्थानीय तहको मात्रै प्रयासले सकिने अवस्था छैन । 

प्राकृतिक विपद्का हिसाबले उच्च जोखिममा रहेको सिन्धुपाल्चाेक जिल्लामा वर्षायाममा आउने बाढी, पहिरो तथा अन्य विपद् पूर्वसूचना प्रणाली, विपद् प्रतिकार्य योजना एवं सामग्रीको उचित व्यवस्थापनको कमजोरीले पनि बर्सेनी जनधनको क्षति हुने गरेको छ।

विसं २०७८ असार १ गतेको बाढीले हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाको मात्रै पाँच सय ५१ घर बगाएको थियो। पाँच हजार चार सय रोपनी खेतीयोग्य जमिन बगर बन्यो भने २५ जनाको मृत्यु भएको थियो। राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनासँगै सात वटा झोलुङ्गे पुल, नौ पक्की पुललगायत ३३ वटा संरचना ध्वस्त भएका थिए। यहाँका स्थानीयका लागि हरेक असार १ गतेले ०७८ सालकाे त्याे कहालीलाग्दाे क्षणलाई झस्काइरहन्छ । 

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला