सडक बालबालिका मुक्त नगर घोषणा भयाे बनेपा नगरपालिका

435 Shares

बनेपा । काभ्रेकाे बनेपा नगरपालिकालाई सडक बालबालिका मुक्त नगर घोषणा गरिएको छ ।

बिहीबार जिल्ला समन्वय समितिका प्रमुख दीपककुमार गाैतमकाे प्रमुख आतिथ्यतामा नगरपालिकामा आयाेजित एक कार्यक्रमका बीच नगरलाई सडक बालबालिका मुक्त नगर घोषणा गरिएको हाे ।  

नगरका सबै वडाभित्रका गाउँ, टोल र समुदाय, गल्ली, मन्दिर परिसर, सडक वा कुनै पनि स्थानमा वेवारिसे अवस्थामा सडकमा बस्ने बालबालिका नभेटिएको/नदेखिएको वा फेला नपरेकोले २०८२ जेष्ठ २७ गतेको नगरकार्यपालिकाको निर्णय अनुसार सबै वडाहरु र बनेपा नगरलाई सडक बालबालिका मुक्त नगर घोषणा गर्ने निर्णय भए बमाेजिम घोषणा गरिएको नगर उपप्रमुख विमला सापकोटाले जानकारी दिनुभयाे ।

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न राष्ट्रिय बालअधिकार परिषद्को सूचना बमोजिम नगरका १४ वटै वडा समितिको निर्णय अनुसार बनेपा नगरलाई सडक बालबालिका मुक्त नगर घोषणा गरिएको हाे । यसका लागि बनेपाले  नेपालको संविधानको भाग ३, मौलिक हक, धारा ३९, बालबालिकासम्बन्धी ऐन २०७५, बालबालिकासम्बन्धी नियमावली २०७८, बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७०, स्थानीय सरकार संचालन ऐन २०७४ तथा बनेपा नगरपालिकाको बालबालिकासम्बन्धी विभिन्न नीति निर्देशिका कार्यविधिहरु लगायत सूचकहरु पूरा गरेकाे छ । 

506410262_24765981573002403_5299892504203362660_n.jpg

कार्यक्रमका प्रमुख अतिथी जिसस काभ्रेका प्रमुख गौतमले प्रतिबद्धतामा हस्ताक्षर गर्दै नगरलाई सडक बालबालिका मुक्त घोषणा गर्नुभयाे । बनेपा जिल्लामै पहिलो सडक बालबालिक मुक्त नगरपालिका भएको बताउँदै उहाँले अन्य पालिकाहरुमा समेत सडक वा अन्य बेबारिसे अबस्थामा बालबालिकाहरु भएमा उद्धार गर्न पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयाे । साथै उहाँले याे ठूलाे चुनाैतीकाे विषय रहेकाे चर्चा गर्दै निरन्तरता दिन सबैसँग अनुराेध गर्नुभयाे ।

कार्यक्रममा बनेपाका प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछाने, १० नम्बर वडा अध्यक्ष चन्द्रबहादुर खड्का, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा अधिकृत भगवती तामाङ, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, बाल सञ्जाल बनेपा नगर अध्यक्ष रोजी मगर लगायतले उक्त कार्यलाई घोषणामा सिमित नराखी सबै पक्षबाट निरन्तरता दिन लाग्नुपर्नेमा जाेड दिए । 

त्यसैगरी बनेपा नगरपालिकालाई बाल श्रममुक्त नगर बनाउनका लागि उपप्रमुख विमला सापकोटाको नेतृत्वमा वडा नम्बर ८, ९ र १० वडामा रहेका पसल, ग्यारेज र हाेटलमा अनुगमन गरिएको छ । साे क्रममा केही पसल तथा ग्यारेजमा बाहिरी देशबाट बालबालिकाहरु आएर काम गरिरहेको फेला परेको र उनीहरुलाई आफन्तको जिम्मामा लगाउन सञ्चालकलाई अनुरोध गरिएको उपप्रमुख सापकोटाले जानकारी दिनुभयाे ।