नेपाल छाला जुत्ता उत्पादक संघको १४ औँ वार्षिक साधारणसभा सम्पन्न

604 Shares

काठमाडौँ । "कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो" भन्ने नाराका साथ नेपाल छाला जुत्ता उत्पादक संघको १४ औँ वार्षिक साधारणसभा त्रिपुरेश्वरस्थित ए क्याफेको सभाहलमा भव्यताका साथ सम्पन्न भएको छ। 

नेपालका परम्परागत छाला जुत्ता उद्योगको सुदृढीकरण, सदस्य उद्यमीहरूको क्षमता अभिवृद्धि  र गुणस्तरीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले २०६६ सालमा स्थापित संघको सो साधारणसभामा सरकारी प्रतिनिधिहरू, पूर्व एवं वर्तमान कार्यसमिति,  सल्लाहकारहरू, संघमा आवद्ध उद्यमीहरु, आपूर्तिकर्ताहरू, पेशागत व्यवसायीहरू लगायत अन्य सरोकारवालाहरूको बाक्लो उपस्थिति रहेको थियो l

संघका अध्यक्ष हरिराम बोगटीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सल्लाहकार रिबन मंग्रातीले गर्नुभएको थियो भने वरिष्ठ उपाध्यक्ष दिलकुमार बिशुन्खेले स्वागत मन्तव्य राख्नुभएको थियो। नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश सिंहले दीप प्रज्वलन गरी उद्‌घाटन गर्नुभएको सो कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालय, काठमाडौँका प्रमुख यादवनाथ आचार्यले विशिष्ट अतिथिको रूपमा उपस्थित जनाउनु भएको थियो। संघका महासचिव बिधान बोगटीले संस्थाको सङ्क्षिप्त परिचय र उपलब्धीबारे प्रकाश पार्दै उद्‌घाटन मन्तव्य प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै संघका पूर्वअध्यक्षहरूले जुत्ता उद्योगको उज्ज्वल भविष्यका लागि सोच, नीति र बजारको सही तालमेल अपरिहार्य रहेको औँल्याउनु भएको थियो। संस्थापक अध्यक्ष रामहरी तोलांगेले परम्परागत पेशाकर्मीबाट उद्यमी बन्न आह्वान गर्दै व्यवसायिक सोच र आधुनिकीकरणको आवश्यकतामा जोड दिनुभयो भने अर्का पूर्वअध्यक्ष जीवन नेपालीले एम.आर.पी. तथा स्थायी प्रदर्शनी कक्षको विषय उठान गर्दै सरकारी नीतिगत सहयोग तथा पूर्वाधारको आवश्यकतामा प्रकाश पार्नु भयो l  निवर्तमान अध्यक्ष बाशु रोक्काले ८० प्रतिशत बजार नेपाली जुत्ताले ओगटेको हुँदा यो ठूलो अवसर भएको बताउँदै स्वदेशी उत्पादनको विशाल सम्भावना र आत्मनिर्भर अर्थतन्त्रको आधारमाथि आफ्नो विचार राख्नु भयो l  सल्लाहकार केशव बिशुन्खेले सबै सरोकारवालाहरूसँग सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो।

नयाँ कार्यसमिति चयन प्रक्रिया अगाडि बढाएकोमा सर्वसम्मतिमा पुरानै नेतृत्व दोस्रो कार्यकालका लागि निर्वाचित भई १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ।

नवनिर्वाचित कार्यसमिति अध्यक्ष हरिराम बोगटी, वरिष्ठ उपाध्यक्ष दिलकुमार बिशुन्खे, उपाध्यक्ष लक्ष्मण मंग्राती, महासचिव बिधान बोगटी, सचिव कुमार मंग्राती, सह–सचिव सान्बाबू बोगटी, कोषाध्यक्ष प्रमेश बिशंखे  र सदस्यहरूमा योगेशकुमार नेपाली, राजन रम्तेल, राजु नेपाली, रामकुमार तोलाङे र रोशन पुर्कोटी रहेका छन् । एक जना पछि मनोनीत गरिने बताइएकाे छ ।