धुलिखेल । आन्तरिक राजश्व कार्यालय धुलिखेल तथा गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा काभ्रेपलाञ्चोकको आयोजना र शैक्षिक सशक्तिकरण केन्द्र नेपालको सहयोगमा धुलिखेलमा कर परिपालना विषयक एक दिने अन्तर्क्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको प्रमुख आतिथ्यता तथा गैसस महासंघ काभ्रेकी प्रमुख गंगा दोङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आन्तरिक कर कार्यालय धुलिखेलका कर अधिकृत रमेश ढकालले करसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि उठेका प्रश्नहरुको आन्तरिक कर कार्यालय धुलिखेलका प्रमुख रमेश भट्टराईले जवाफ दिनुभएको थियो ।

कार्यपत्र प्रस्तुत गर्दै कर अधिकृत ढकालले आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र कर अनिवार्यरुपमा बुझाउनु पर्ने अन्यथा जरिवाना लाग्ने जानकारी दिनुभयो । उहाँले कर चुक्ता गर्नुपर्ने अवस्था र कर छल्दा आउनसक्ने समस्याका बारेमा सहभागीहरुलाई जानकारी दिनुभयो । जवाफमा प्रमुख भट्टराईले २५ हजारभन्दा बढीको तलब भुक्तानीलगायतका आर्थिक कारोबारमा बैंकिङ प्रणाली अपनाउनु पर्ने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले व्यक्ति वा संस्था र कम्पनीले समयमै कर बुझाउनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रशासन कार्यालयमा संस्था दर्ता र कर चुक्ताका विषयमा आवश्यक सहयोग गर्न आफू सधैं तयार रहेको बताउनुभयो । साना र ठूला संस्थालाई एउटै करको दायरामा ल्याउन नहुने बताउँदै उहाँले यस विषयमा आवश्यक नीतिनियम संशोधनमा जिम्मेवार निकायले सोच्नुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा उपस्थितहरुलाई स्वागत गर्दै गैसस महासंघ काभ्रेका प्रमुख गंगा दोङले करको विषयमा प्रष्ट होस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभएको थियो । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधी तथा कार्यालयका प्रमुखहरुको उपस्थिती रहेको थियो ।
तस्बीरहरुः ज्ञानमणि नेपाल कालाेटाेपी / न्युज हाउस नेपाल
फेसबुकबाट तपाईको प्रतिक्रिया