काठमाडाैं । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले उद्धारमा खटिने प्रत्येक गोताखोरको मनोबल उच्च र उपकरण दुरुस्त हुनु आवश्यक रहेको बताउनुभएको छ।
बुधबार कुरिनटारमा रहेको सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालयमा आयोजित गोताखोर तालिमको समापन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सशस्त्र प्रहरी बलका सम्पूर्ण इकाईहरुमा आधारभूत उपयोग सामग्रीको व्यवस्थापनलाई प्राथमिकता दिनका लागि यसै आर्थिक वर्षदेखि नयाँ योजना शुरु गरिएको बताउनु भयो ।
हाल उपलब्ध केही उपकरणहरु पुराना भएकाले तिनीहरुको सुरक्षा परीक्षण, मर्मतको आवश्यक रहेको उल्लेख गर्दै उहाँले हाल ६० फिट गहिराईसम्मको तालिम सञ्चालन भइरहेको र थप उन्नत तालिम तथा आधुनिक उपकरणमार्फत क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उपकरणहरुको मर्मतसम्भार र नयाँ खरिदको लागि आवश्यक बजेट व्यवस्थापनका लागि मन्त्रालयसँग समन्वय गरिरहेको र केही कार्यहरु अघि बढेकोसमेत बताउनु भयो ।
महानिरीक्षक अर्यालले गोताखोर लगायत उच्च जोखिमका उद्धारमा खटिनेहरुलाई प्रोत्साहनस्वरुप सशस्त्र प्रहरी बल नेपालले सिमित श्रोतका बाबजुद विभिन्न कल्याणकारी सुविधा प्रदान गर्दै आएको बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया