डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्री भण्डारीको निर्देशन

349 Shares

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मन्त्रालय अन्तर्गतका डिजिटल प्रविधिलाई तत्कालै स्तरोन्नती गरी नागरिकलाई सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । 

मन्त्रालयमा मंगलबार आयोजित छलफलमा उनले ‘श्रम संसार’ पोर्टलमा वैदेशिक रोजगार, सीप विकास, श्रम तथा रोजगार सम्बद्ध सेवालगायत श्रम तथा रोजगार सेवामा संलग्न सरोकारवालाको विवरणसमेत थप गरेर स्थानीय तहबाट सेवा प्रवाह गर्न निर्देशन दिए । अन्तर्राष्ट्रिय श्रमिक दिवसदेखि यो पोर्टल सञ्चालनमा आएको हो ।

सूचना प्रविधिलाई एकीकृत र प्रभावकारी तवरले विकास एवं विस्तार गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन केकसरी सकिन्छ भन्ने विषयमा भएको उक्त छलफलमा मन्त्री भण्डारीले मन्त्रालयले श्रम बजार सूचना प्रणालीको निर्माण कार्यमा ढिलाइ नगर्न निर्देशन दिए । 

उनले आन्तरिक रोजगार व्यवस्थापन महाशाखाले डिजिटलाइजेसन कार्यको नेतृत्व गर्न तथा फोकलपर्सन तथा मिति नै तोकेर काम गर्न निर्देशन दिए । मन्त्री भण्डारीले आगामी वर्षदेखि राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रम, सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड तथा राष्ट्रिय व्यावसायिक सीप प्रतिष्ठानलगायत सम्पूर्ण श्रम तथा सेवा रोजगार सेवा केन्द्रमार्फत सेवा प्रवाह हुने जानकारीसमेत दिए ।

छलफलमा मन्त्रालय तथा मातहतका कर्मचारी, प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ असगर अली, श्रममन्त्रीको विज्ञ सल्लाहकार युवराज बस्नेत, स्वीस कन्ट्र्याक्टका निर्देशक, विश्व बैंक, सामी र रेमी आयोजनाका प्रतिनिधिको सहभागिता रहेको थियो । यसै क्रममा मन्त्रालय मातहत रहेका सूचना प्रणालीको स्तरोन्नती गर्नमा भएको ढिलाइ र यसले नागरिकलाई सेवा प्रवाहमा देखिन सक्ने चुनौतीहरूलाई विश्लेषण गरिएको थियो ।रासस