समाजवादउन्मुख अर्थतन्त्रले अलमलमा पारेको छः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

327 Shares

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले समाजवादउन्मुख अर्थतन्त्रले अलमलमा पारेको बताउनुभएको छ।

नेपाली काँग्रेसको आर्थिक नीति तथा योजना विभाग मंगलवार ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा आयोजना गरेको ‘विद्यमान आर्थिक परिवेशमा बजेटले समेट्नुपर्ने नीति’ विषयक संवाद गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानमा समाजवादउन्मुख अर्थतन्त्र भनिए पनि त्यसको गन्तव्य नै स्पष्ट नभएको हो कि जस्तो आफूहरूलाई लागेको बताउनु भयो । 

श्रेष्ठले सरकारले संविधान संशोधन गर्ने मुख्य एजेन्डा बोकेर अगाडी बढेको बताउँदै समाजवाद उन्मुख अर्थतन्त्रले कहाँनिर पुग्ने हो भन्नेमा अलमलमा पारेको विचार व्यक्त गर्नुभयो । उहाँले १२ वर्षभन्दा बढी समयदेखि भारतबाट नेपालमा प्राइभेट सेक्टरको लगानी नआएको उहाँले स्मरण गराउनु भयो । 

उहाँले भारतबाट सरकारी क्षेत्रबाट लगानी आएपनि त्यो हाइड्रोपावरमा मात्रै भएको बताउँदै अब सोच्ने समय आएको जिकिर गर्नुभयो । उहाँले संविधान संशोधनको समयमा सरकारले निजी क्षेत्रलाई हेर्न, बुझ्ने र सोच्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने धारणा राख्नुभयो ।