कम्पनी, उद्योग नवीकरण गर्ने प्रचलन हटाऔंः गोकर्ण अवस्थी

365 Shares

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक (डिजी) गोकर्ण अवस्थीले नेपालमा लगानी बढ्न नसक्नुको मुख्य कारण राजनीतिक अस्थिरता रहेको बताउनुभएको छ ।

आफूहरुले गरेको सर्वेक्षणमा ८० प्रतिशतले राजनीतिक अस्थिरताका कारण लगानी नबढेको पाएको बताउनुभएको हो । आइबीएन मिडियाले आइतबार काठमाडौंमा आयोजना गरेको प्रि बजेट छलफल कार्यक्रममा उहाँले लगानी बढाउन राजनीतिक स्थायित्व जरुरी हुने बताउनु भयो । 

उहाँले अहिलेको राजनीतिक परिस्थिति, संविधान अनुसार राजनीतिक हुन नसक्ने स्थिति रहेको बताउनु भयो । उहाँका अनुसार आर्थिक सुधार आयोगको प्रतिवेदनलाई आधार मानेर बजेट आयो भने प्रभावकारी हुनेछ । रोजगारी दशक भनेर नीति तथा कार्यक्रममा आएको बताउँदै लगानी नभई रोजगारी कसरी हुन्छ भन्दै अवस्थीले प्रश्न गर्नुभयो । 

सरकारले दिएको रोजगारी ५ लाखलाई मात्रै रहेको बताउँदै उहाँले बाँकी रोजगारी निजी क्षेत्रबाट सिर्जना भएको बताउनु भयो । सरकार–निजी क्षेत्रबाट सिर्जना गरिएको रोजगारीले समेत नपुगेर नेपालीहरु विदेशमा गएर पसिना बगाउनुपरेको उहाँको भनाइ छ । रोजगारी सिर्जना गर्नका लागि सरकारले लगानीमैत्री वातावरण बनाउनुको विकल्प नरहेको उहाँको भनाइ रहेको छ । 

लगानी दशक भनिरहँदा लगानीसम्बन्धी कानूनहरुलाई सामयानुकुल बनाउन जरुरी रहेको बताउँदै उहाँले अध्यादेशबाट ल्याइएका कानूनहरु कतिपय संसदबाट पास भएपनि नियमावली कार्यविधि समयमै नआउँदा अलपत्र जस्तै भएकाले छिटो बनाउनुपर्ने बताउनुभयाे ।