काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालका राजनीतिक दलहरु राज्य दोहनका साधन बनेको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लोकतन्त्रमा दलहरु चाहिने तर राजनीतिक दलहरु स्वार्थ समूह बनिरहेको बताउनु भयो । लोकतन्त्रमा राजनीतिक दलहरु नै विचारका वाहक हुने बताउँदै उहाँले राजनीतिक दलहरुको प्रतिष्पर्धाबाट नै लोकतान्त्रिक वातावरण बन्ने जिकिर गर्नुभयो ।
नेपालका राजनीतिक दलहरु नयाँ रहेको र दलहरु विचार, राजनीति, सिद्धान्त, आदर्शमा भन्दा पनि एउटा स्वार्थ समूह जस्तो भएर जसरी पनि निर्वाचन जितेर सत्तामा पुग्ने खेलमा सिमित रहेको बताउनु भयो । उहाँले राजनीतिक दलहरुले सरकारलाई बिना लगानी सम्पत्ती आर्जन गर्ने माध्यम बनाएको बताउनु भयो । राजनीतिक दलहरु विचार, सिद्धान्त, आदर्श, नैतिकताका वाहक हुन नसकेको उहाँको भनाइ छ । दलीय आवद्धता अब नेपालका निम्ति ठूलो बाधक बनिरहेको जिकिर गर्नुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया