फागुन मसान्तसम्म विद्युत प्राधिकरण ९ अर्ब ४८ करोड रुपैयाँ नाफामा छः कार्यकारी निर्देशक शाक्य

357 Shares

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र सार्वजनिक गर्दै आ.व. २०८०/०८१ सम्म प्राधिकरणको कुल सञ्चित नाफा करिव ४६ अर्ब ४७ करोड रुपैयाँ रहेको बताउनुभएको छ। 

चालु आ.व. को फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड रुपैयाँ भएको तर आयकर ऐनको प्रावधानअनुसार थप ह्रासकट्टीको दाबीसहितको नाफा नोक्शान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्शानीमै रहेको शाक्यले जानकारी दिनुभएको हो । उहाँले जारी गर्नुभएको  श्वेतपत्रमा भनिएको छ–‘महालेखाको प्रतिवेदनअनुसार लेखापरीक्षण प्रतिवेदनमा औंल्याइएका बुँदाहरुमध्ये संस्थाले ७ अर्ब १९ करोड खर्च नलेखेको र ४ अर्ब ७२ करोड रुपैयाँ आम्दानी बढी लेखाङ्कन गरेको तथा २९.९१ करोड आम्दानी नबाँधेको देखिन्छ । 

समग्रमा आ. व. २०८०/८१ मा देखाएको नाफा नोक्शान हिसाबमा थप समायोजन गरी नाफा नोक्शान कायम गर्नुपर्ने देखिन्छ । यसमा सम्भावित दायित्वसमेत बापत हुन आउने नोक्शानी संलग्न छैन । यसरी महालेखाको प्रतिवेदनमा औंल्याइएको कैफियत र नेविप्राले तयार गरेको वासलात तथा नाफा नोक्शान विवरण आदिमा मुलभूतरुपमा फरक पर्न गएकोले यस संस्थाको वास्तविक आर्थिक अवस्था पहिचान गरिनेछ ।’

श्वेतपत्रअनुसार बाँकी वक्यौतातर्फ २०८१ आषाढ मसान्तसम्मको डेडिकेटेड फिडर तथा ट्रंकलाइनतर्फको २३ अर्ब ४४ करोड रुपैयाँ रहेकोमा गत फाल्गुनसम्म प्राधिकरणको जम्मा वक्यौता ४४ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । डेडिकेटेड फिडर तथा ट्रकलाइनतर्फको २३ अर्ब ४४ करोडमध्ये पहिलो खण्ड २०७२ श्रावणदेखि पौषसम्मको १ अर्ब ४२ करोड, २०७२ माघ देखि २०७५ वैशाखसम्म ६ अर्ब ११ करोड र २०७५ जेठ देखि २०७७ असारसम्म १ अर्ब १ करोड र चक्रिय जरिवाना रकम ६ अर्ब ९० करोड रहेको छ । वक्यौता असुलीको लागि प्राविधिकरुपमा प्रमाण जुटाउनुपर्ने रहेको बताउँदै शाक्यले कतिपय अदालतमा विचाराधिन रहेको जानकारी दिनुभयो ।

महालेखापरीक्षकको प्रतिवेदनअनुसार संस्थाले खिम्ती जलविद्युत आयोजनाको आजसम्म पनि स्वामित्व हस्तान्तरण गरी नलिएकाले संस्थाको सम्पत्ती तथा दायित्वको यथार्थ यकिन नभएको र सो कारणबाट महालेखा परीक्षकको कार्यालयले जारी गरेको प्रतिवेदनअनुसार संस्थालाई आ. व. २०८०/८१ को अन्त्यसम्ममा १२ अर्ब ५८ करोड रुपैयाँको थप दायित्व सृजना हुन जाने श्वेतपत्रमा उल्लेख छ ।