राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

395 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।

बुधबार इन साइट लाइभ २०३० अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले नयाँ राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो । उहाँले नेपालले नयाँ राष्ट्रिय आँखा स्वास्थ्य रणनीति अनुमोदन गरेको उल्लेख गर्दै यस रणनीतिले आँखा स्वास्थ्यलाई प्राथमिक स्वास्थ्य सेवा प्रणाली र आवश्यक सेवाहरूमा एकीकृत गर्न प्राथमिकता दिएको प्रमाणित हुने बताउनु भयो । आँखा स्वास्थ्य अब एकल कार्यक्रमको रूपमा नहेरिने र यो सरकारको सार्वजनिक स्वास्थ्य संरचनाको हिस्सा बनेको दाबी गर्दै उहाँले  सरकारले विद्यालयमा आधारित दृष्टि जाँच कार्यक्रम शुरू गरेको जानकारी दिनुभयाे । 

विद्यालय नर्स कार्यक्रम पनि शुरू भइसकेको बताउँदै जसमा आँखा स्वास्थ्यलाई विद्यार्थी कल्याणको मुख्य हिस्साको रूपमा समावेश गरिएको प्रधानमन्त्री ओलीको भनाइ छ । जसले दिगो विकास लक्ष्य ४/५ अनुरूप लैंगिक समानता र शिक्षामा पहुँचलाई अघि बढाउने बताउनु भयो ।  आँखा स्वास्थ्य सूचकहरूलाई देशको राष्ट्रिय स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा समावेश गर्न लागेको जानकारी गराउनु भयो । 

प्रधानमन्त्री ओलीले सरकारले स्वास्थ्य क्षेत्र रणनीतिक योजना २०२३–२०३० मा महत्वाकांक्षी लक्ष्यहरू निर्धारण गरेको र जसमा प्रभावकारी मोतियाबिन्दु शल्यक्रिया कभरेजलाई ३५.४% बाट ७०% मा दोब्बर गर्ने प्रतिबद्धता जनाएको बताउनु भयो । आँखा स्वास्थ्यले गरिबी र भोक अन्त्य गर्नेदेखि असमानता घटाउने र जलवायु लचकता प्रवर्द्धन गर्ने धेरैजसो दिगो विकास लक्ष्यहरूलाई प्रत्यक्ष र अप्रत्यक्षरूपमा प्रभाव पार्ने बताउनु भयो ।