शिक्षकहरूका जायज मागहरूलाई सम्बोधन गर्न सरकार अनुदार भयाेः उपमहासचिव पुन

388 Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकार शिक्षकहरूका जायज मागहरूलाई सम्बोधन गर्न अनुदार बनेको आरोप लगाउनुभएको छ । 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकपछि संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले संसदमा प्रतिपक्षी दलहरूको तर्फबाट जरुरी सार्वजनिक महत्वको प्रश्ताव प्रश्तुत गरिए पनि सरकारले त्यसमा गम्भीरता नदेखाएको बताउनु भयो । २८ दिनदेखि जारी रहेको शिक्षकहरूको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै शिक्षकका मागलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराइएको भएपनि सरकारले बेवास्ता गरेको बताउनु भयो । 

उहाँले शिक्षकहरू आन्दोलनले विद्यालयमा नयाँ भर्ना, एसइई परीक्षाको उत्तर पुस्तिका जाँच तथा कक्षा १२ को परीक्षा अन्योल हुँदा पनि सरकार अनुदार बनेको आरोप लगाउनु भयो । शिक्षकका माग सम्बोधनका लागि पहल थाल्ने शिक्षामन्त्रीलाई हटाउने, नयाँ मन्त्री अनुदार सोच राख्ने र प्रधानमन्त्रीले लर्काउनेजस्ता गतिविधि भएको भन्दै आपत्ति जनाउनु भयो । उपमहासचिव पुनले शिक्षकहरूका जायज मागहरूलाई सम्बोधन गराउन जरुरी सार्वजनिक महत्वको प्रश्ताव पेस गरिए पनि संसदमा छलफल गर्न सरकार तयार नभएको भन्दै लोकतन्त्रमा गैरजिम्मेवार प्रवृत्ति भएको आरोप लगाउनु भयो ।  

उहाँले शिक्षकका माग सम्बोधनमा सरकारलाई गम्भीर बन्न आग्रह गर्दै शिक्षकहरू फर्कने वातावरण तयारी गरी जनताका छोरी छोरीको पढाइलाई सूचना गर्न अपिल गर्नुभयो ।